हेटौंडालाई युनानको मैत्री पार्क हस्तान्तरण
हेटौंडा- छिमेकी राष्ट्र चीनको युनान प्रान्तले भगिनी सम्बन्ध स्थापित गर्न निर्माण गरेको मैत्रीपार्क हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ ।हेटौंडा उपमहानगरपालिका–८ मा निर्माण गरेको मैत्री पार्क युनान कमर्शियल रिप्रिजेन्टेटिभ कार्यालयका नेपाल प्रमुख याङ चिन पिंगले हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामालाई हस्तान्तरण गरेका हुन् । युनान प्रदेशको नेपाल कार्यालयले बागमती प्रदेश सरकारसँग भगिनी सम्बन्ध स्थापित गरेसँगै कार्यालयले प्रदेशको राजधानी रहेको हेटौंडासँग सम्बन्ध स्थापित गर्दै पार्क निर्माण गरेको हो ।
हेटौंडा उपमहानगरपालिकाको समन्वयमा हेटौंडाका विभिन्न ठाउँमा तय गरेको जमिनमध्ये कार्यालयले हेटौंडा औंधोगिक क्षेत्रको जमिनमा पार्क निर्माणमा रुची देखाएको थियो ।हेटौंडा औंधोगिक क्षेत्रभित्र रहेको खेल मैदानको पूर्व दक्षिणी भागमा निर्माण गरेको पार्कको लागत भने खुलाइएको छैन । करिब २ महिना लगाएर निर्माण गरेको पार्कमा दैनिक व्यायामका लागि आवश्यक सामग्रीहरु रहेको छ । पार्कमा खेल समयका क्रममा थकान महशुुस भएमा बस्ने ठाउँको व्यवस्थासहित सुन्दर हरियालीको व्यवस्था छ । पार्क हस्तान्तरणमा हेटौंडा उपमहानगरपालिकाका प्रमुख लामाले छिमेकी राष्ट्रको युनान प्रान्त र हेटौंडाबीचको सम्बन्धलाई दीगो राख्न यस्ता कामले महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
आपसी सम्बन्धको विकासले भाइचारा प्रगाढ बनाउने उनको भनाइ छ । हस्तान्तरणसँगै पार्कको संरक्षण र व्यवस्थापनको जिम्मेवारी हेटौंडा उपमहानगरपालिकाले गर्ने नगर प्रमुख लामाले जानकारी दिएकी छन् ।पार्क हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–९ का वडा अध्यक्ष सुकराम केसी, हेटौंडा उपमहानगरपालिकाको प्रमुख कार्यकारी अधिकृत शिवराज चौलागाई, नेपाल–चीन कार्यकारी परिषद्का महासचिव राजेन्द्र नकर्मी लगायतको उपस्थिति थियो ।







