मगर बौध सेवा समाजको तालिम
हेटौंडा- नेपाल मगर बौध सेवा समाज मकवानपुरको छैठौं वार्षिक भेला तथा वापा÷मापा तालिम हेटौंडामा भएको छ । हेटौंडा उपमहानगरपालिका–१२, स्थित लखन बाटिकामा सुरु भएको तालिम पुस २१ गतेसम्म सञ्चालन हुने जनाइएको छ । २० जना बढी प्रशिक्षार्थी सहभागी तालिमको प्रशिक्षक धनिराम राना मगर र कृष्णबहादुर काउछा मगरले सहजीकरण गरेका छन् ।
मगर समुदायको आफ्नै पुरोहित उत्पादन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको समाजका सचिव राजु दर्लामी मगरले बताएका छन् । तालिम उद्घाटन तथा भेला समाजका अध्यक्ष ज्ञानबहादुर कालिकोटे मगरको सभाध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिकाका मेयर मिना लामाको प्रमुख आतिथ्यतामा भएको थियो ।
भेलामा नेपाल मगर संघ मकवानपुरका पूर्वअध्यक्षहरुको तर्फबाट टक्कर थापा मगर, केन्द्रीय सल्लाहकार बेली दर्लामी मगर, जिल्ला उपाध्यक्ष उर्मिला राना मगर, पूर्वकेन्द्रीय सदस्य तथा लखन बाटिकाका अध्यक्ष विश्व आले मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए । भेलाअघि समाजको समन्वयमा हेटौंडा बजारमा भिक्षाटण कार्यक्रम भएको थियो । हेटौंडाको चौकीटोलदेखि सीमाचोकसम्म भएको भिक्षाटणमा पाँच जना मगर भिक्षु उपस्थित थिए ।







