बागमती गाउँपालिकाले भूमिहीनलाई लालपूर्जा वितरण गर्ने
हेटौंडा- पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले भूमिहीन, सुकुमबासी घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण गर्ने भएको छ । गाउँपालिकाले भोलि आइतबार पालिकाको कार्यालय झुरझुरेमा भूमिहीन ३० जना घरमुलीलाई पूर्जा वितरण गर्ने भएको हो । बागमती गाउँपालिका अध्यक्ष सर्केस घलानले गएको मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन आचारसहिंताका कारण रोकिएको लालपूर्जा वितरण सुरु गरिन लागेको बताए ।
उनले ३० जना भूमिहिन दलित, सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न लागिएको जानकारी दिए ।पालिकाको वडा नम्बर ४ का २८ जना र ५ नम्बर वडाका २ जना गरी ३० जना भूमिहीन दलित, सुकुमबासी घरपरिवारलाई पूर्जा वितरण गर्न लागिएको प्रशासकीय प्रमुख झम्कनारायण घलानले जानकारी दिए । भूमिहिनलाई भूमिमालिक बनाउने कार्यको अब निरन्तरता दिने भन्दै अध्यक्ष घलानले बोलेको प्रतिबद्धता पूरा गरेरै छाड्ने बताए । बागमती गाउँपालिकाले २०७८ सालको चैत्रमा २ जना भूमिहीनलाई पूर्जा वितरण गरेको थियो । यस पालिकाभित्र झण्डै ४ हजार भूमिहिन सकुम्बासीको बसोबास रहेको छ ।







