गुणस्तरीय शिक्षाको व्यवस्था गर्न १६ बुँदे सम्झौता

साझाकुरा
२०७९ पुष १७, आईतवार १०:०३

हेटौंडा- मकवानपुरका विभिन्न शिक्षक संगठन र जिल्लाका दुईवटा स्थानीय तहबीच निरन्तर संवाद र सहकार्य गर्दै गुणस्तरीय शिक्षाको व्यवस्था गर्ने विषयमा १६ बुँदे सम्झौता भएको छ । दुई दिनसम्म भएको बृहत् छलफलपछि जिल्लाका शिक्षक संगठनहरु र दुईवटा स्थानीय तहबीच सहकार्य गर्ने बिषयमा सम्झौता भएको हो । सम्झौता पत्रमा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामा र मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, नेपाल शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जीधराज ढकाल, नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संघठन जिल्ला अध्यक्ष श्रीराम दाहाल, संस्थागत विद्यालय शिक्षक युनियनका जिल्ला संयोजक सचिन लामाले हस्ताक्षर गरेका छन् ।

सहमति पत्रमा शैक्षिक सरोकारवाला संघ, संगठनहरूको अनिवार्य सहभागितामा उपमहानगर तथा गाउँपालिकास्तरीय शैक्षिक संवाद समिति गठन गरी नियमित छलफल गर्ने, शिक्षा क्षेत्रका लागी बजेट निर्माण तथा पालिकाको शैक्षिक नीति तथा कार्यक्रम निर्माण गर्नुपूर्व सरोकारवालहरुसँग छलफल गर्ने उल्लेख गरिएको छ ।यस्तै, अनिवार्य, निःशुल्क तथा गुणस्तरीय सार्वजनिक शिक्षा एवम् सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीका पेसागत समस्या हल गर्नका लागि शैक्षिक संवाद समितिलाई क्रियाशील बनाइने र संस्थागत तथा सामुदायिक विद्यालयमा कार्यरत् शिक्षक कर्मचारीलाई शिक्षा ऐन, नियमावलीमा तोकिएबमोजिम नियुक्तिपत्र, तलब, भत्तालगायत सुविधा उपलब्ध गराउन आवश्यक वातावरण निर्माण गर्ने सहमति भएको छ ।

पालिकाभित्र सञ्चालित विद्यालयमा उपलब्ध स्रोत र साधनको उच्चतम प्रयोग गरी गुणस्तरीय शिक्षा प्रदान गर्न पहल गर्ने, पालिकाभित्र बसोबास गर्ने कुनैपनि बालबालिकालाई विद्यालय तहको शिक्षा आर्जन गर्नबाट बञ्चित हुन नदिने, बालमैत्री, अपा·मैत्री तथा महिलामैत्री विद्यालय बनाउन लगानीमा बृद्धि गर्ने, प्रविधिमैत्री विद्यालय, पोसाक, छात्रवृत्ति, पाठ्यपुस्तक वितरण तथा न्यायिक विद्यालय स्थापनामा जोड दिने जस्ता विषय सहमति पत्रमा उल्लेख छ ।

सहमति पत्रमा हस्ताक्षर पछि आयोजित कार्यक्रममा बोल्दै इस्टुका राष्ट्रिय अध्यक्ष होमकुमार थापा, हेटौंडाकी मेयर मिनाकुमारी लामा, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान,
हेटौंडा उपमहानगरपालिकाका १ का वडा अध्यक्ष सविन न्यौपाने, २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जन, ४ का वडाध्यक्ष नबिन सिग्देल, १५ का अध्यक्ष सुनिल मोक्तान, संस्थागत विद्यालय अभिभावक संघकी अध्यक्ष रमिला सापकोटालगायतले सहमतिलाई दुबैतर्फ अक्षरस पालना गर्नुपर्नेमा जोड दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*