कृषिमा व्यावसायिकता आवश्यकः बानियाँ
हेटौंडा- नेपाल बीऊ व्यवसायी संघका केन्द्रीय महासचिव विश्वराज बानियाँले देशभित्रै गरिखाने वातावरण बनाउन कृषिमा व्यावसायिकता आवश्यक भएको बताएका छन् । नेपाल बीऊ व्यवसायी संघ जिल्ला समन्वय समिति मकवानपुरको आठौँ वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले बीऊमा आत्मनिर्भरताका लागि देशभित्रै बीऊ उत्पादनलाई प्रोत्साहित गर्ने तीनै तहको सरकारको नीति हुनुपर्ने बताउँदै नयाँ जातको बीऊ सूचीकरण नहुँदा कृषि उत्पादन प्रभावित भएको बताए । कार्यक्रममा बागमती प्रदेशको बीऊ बिजन गुणस्तर नियन्त्रण केन्द्रका निर्देशक राजन ढकालले गुणस्तरीय बीऊले आर्थिक समृद्धिमा सहयोग पुग्ने धारणा व्यक्त गर्दै प्रदेशभित्रै बीउ उत्पादनलाई प्रोत्साहित गर्न बागमती प्रदेश सरकारले बीऊ बिजन आत्मनिर्भर कार्यक्रम ल्याएको बताए ।
नेपाल बीऊ व्यवसायी संघ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष रमेश अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बीऊ व्यवसायी संघ बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष हरिशरण अर्याल र मकवानपुर चेम्बर अफ कमर्शका अध्यक्ष माधव न्यौपानेले व्यवसायीको समस्याका बारेमा बोलेका थिए । यस्तै, मकवानपुरगढी दरबार परिसरमा भएको नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ मकवानपुरको पाँचौ वार्षिक साधारण सभाको उद्घाटन गर्दै संघका केन्द्रीय अध्यक्ष पूर्णचन्द्र सापकोटाले नेपालमा दर्ता नभएका पशुपंक्षी औषधि खरिद र बिक्री नगर्न आग्रह गरे ।पशुपंक्षी औषधि व्यवसायीको भूगोल अनुसार समस्या फरक रहेको चर्चा गर्दै पशुपंक्षी औषधि व्यवसायमा दर्ता बिनाका गैर व्यवसायी बढिरहेको बताए । बागमती प्रदेशको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. बज्रकिशोर ठाकुरले देशको आर्थिक विकासमा कृषि क्षेत्रको महत्वपूर्ण योगदान रहेको भन्दै पशुपंक्षी औषधि व्यवसायीसँग सहकार्य गरेर काम गर्ने बताए ।
पशुपंक्षी औषधि व्यवसायी संघ मकवानपुरका अध्यक्ष हरिशरण अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु अधिकारी, पशुपंक्षी औषधि व्यवसायी संघ बागमती प्रदेशका उपाध्यक्ष लक्ष्मण सापकोटा, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष राममणि दाहाल, पशुपंक्षी औषधि व्यवसायी संघ बागमती प्रदेशका सदस्य प्रकाश अधिकारीलगायतले सरकारले कृषकलाई दिने अनुदान दुरुपयोग रहेकोले नियन्त्रण आवश्यक रहेको बताएका थिए ।







