बैंकविरुद्ध सडकमा उत्रिए उद्योगी व्यवसायी, चरणबद्ध आन्दोलनको चेतावनी
हेटौंडा, १७ पुस÷ बैंकहरुको चर्को ब्याजदरविरुद्ध हेटौंडाका सबै उद्योगी र व्यवसायीहरु सडकमा उत्रिएका छन् । आइतबार व्यवसायीहरुले सडकमा विरोध प्रदर्शन गरेका छन् ।हेटौंडाका औद्योगिक तथा व्यवसायिक संघ संस्थाहरुले बैंकहरुको चर्को ब्याजदर, नेपाल राष्ट्र बैंकको चालु पूँजी कर्जा मार्गदर्शन २०७९ का कारण आर्थिक संकट बढेको भन्दै सच्याउन माग गर्दै विरोध प्रदर्शन गरेका छन् । देशको अर्थतन्त्रको असहज परिस्थितिले गर्दा देशभरका विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीहरु मर्कामा परिरहेको अवस्थामा बैंकहरुले चर्को ब्याजदर लिएर ढाड सेक्ने काम गरेको र राष्ट्र बैंकको चालु पूँजी कर्जा मार्गदर्शनले थप पीडा दिएको व्यवसायीहरुको गुनासो छ । चालु पूँजी कर्जा सम्बन्धी राष्ट्र बैंकको प्रावधानले उद्योगी व्यवसायीलाई हतोत्साही बनाएको उनीहरुको गुनासो छ ।
बैंकको चर्को ब्याज र निर्देशिकाका कारण पूँजी बजार ओरालो लागेको, पूँजीगत खर्च हुन नसकेको, रोजगारीको अवसर सृजना हुन नसकेको दावी देशभरका उद्योगी व्यवसायीहरुले गरेका छन् । उद्योगी व्यवसायीको परिस्थिति प्रतिकूल र असहज बन्दै गइरहेको अवस्थामा संरक्षण गर्नुपर्ने दायित्व बोकेका सरकार, नेपाल राष्ट्र बैंकलगायतका निकायले वेवास्ता गरेको उनीहरुको गुनासो छ । उद्योग व्यपार पूर्ण क्षमतामा सञ्चालन हुन सकेको परिस्थतिलाई सरकार र राष्ट्र बैंकले गम्भिर तवरबाट मनन गनुपर्ने उद्योग व्यवसायीको माग छ । चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ लागु गरेर झन जटिलता र अन्यौलता थपिदिएको उनीहरुको आरोप छ ।
मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा उद्योग संघ मकवानपुर, नारायणी यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ, होटल एसोसिएसनलगायत मउवा संघमा आवद्ध सबै वस्तुगत संघहरुले संयुक्त विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । मागहरु सम्बोधन नभएमा चरणबद्ध आन्दोलन थाल्ने चेतावनीसमेत दिइएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले उद्योगी र व्यवसायीहरु बैंकको चर्को ब्याजदरले ढाक सेकिको र बैंकले दिएको दबावकोविरुद्ध आन्दोलनमा जानु परेको बताए । विगतमा कोरोना महामारी र हाल उत्पन्न आर्थिक संकटका कारण धेरै व्यवसायी पलायनको स्थितिमा रहेको र केही
व्यवसायीहरु मानसिक तनावमा बस्नु परेको अग्रवालले बताए । मुलुकको अर्थतन्त्रमा योगदान गर्ने उद्योगी र व्यवसायीहरुको समस्या नसुनेको भन्दै उनले दुःख लागेको बताए ।अध्यक्ष अग्रवालले बैंकको ब्याजदर नियन्त्रण गरी एकल अकंको हुनुपर्ने, अर्थतन्त्र सामान्य अवस्थामा नपुगुन्जेल चालू पूजी कर्जा सम्बन्धि मार्गदर्शन–२०७९ कार्यान्वयन नगर्ने, पूँजीगत खर्च बढाई बजारमा तरलता प्रवाह गर्नुपर्ने मागहरु राखेका छन् ।
आन्दोलनरत् संघ संस्थाहरुले आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत अर्थमन्त्री तथा राष्ट्र बैंकका गर्भनरलाई ज्ञापन पत्र बुझाउने, आज सोमबार पाँचवटै संघमा आवद्ध व्यवसायीहरुले ब्यानर राखी विरोध गर्ने, १९ गते मंगलबार आम व्यवसायीहरुले कालो पट्टी बाँधेर विरोध जनाउने र २० गते मागहरु सम्बोधन नभएको खण्डमा चरणबद्ध आन्दोलन गर्ने कार्यक्रमहरु सार्वजानिक गरिएको छ । उद्योग संघका अध्यक्ष स्वागतराज प्याकुरेल, नारायणी यातायातका अध्यक्ष हिरालाल श्रेष्ठ, होटल एसोसिएसनका अध्यक्ष दिलिश गोविन्द जोशी, वस्तुगत संघ समन्वय समितिका संयोजक राजु अधिकारी लगायतले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उद्योगी र व्यवसायीहरुको समस्या तत्काल समाधान गर्नुपर्ने माग राखेका छन् ।
उद्योग संघ भने विगतदेखि नै आन्दोलनरत् छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले मनोमानी ढंगले जग्गाको भाडा बढाएको भन्दै उद्योगीहरु आन्दोलन गरिरहेका छन् ।आइतबार मकवानपुर उद्योग वाणिज्य संघबाट निस्किएको सयौंको संख्यामा रहेका व्यवसायीहरुको ¥याली मुख्य बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो । प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेमार्फत आन्दोलनरत् मकवानपुरका उद्योगी तथा व्यवसायीहरुले नेपाल सरकारका अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गर्भनरलाई ज्ञापन पत्र बुझाएका हुन् । व्यवसायीहले विभिन्न मागसहितका नारा लगाउँदै हेटौंडाको बुद्धचोक, स्कुलरोड हुँदै पारिजातपथ, हरिकुञ्जरोडबाट मानसचोक हुँदै जिल्ला प्रशासन कार्यालय मकवानपुर पुगेर पाण्डेलाई ज्ञापन पत्र बुझाइएको थियो ।







