बागमतीका भूमिहीनले पाए लालपुर्जा

साझाकुरा
२०७९ पुष १८, सोमबार ११:४६

हेटौंडा- जिल्लाको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकाले आफ्ना गाउँबासीलाई लालपुर्जा वितरण गरेको छ । जिल्लाका १० स्थानीय तहमध्ये गाउँबासीलाई भटाभट लालपुर्जा दिने गाउँपालिका बागमती बनेको छ ।अन्य स्थानीय तहहरुले जग्गा नापजाँचको कामसमेत नसकेको अवस्थामा बागमती गाउँपालिकाले भने आइतबार ३० जना भूमिहीनलाई लालपुर्जा वितरण गरेको हो ।

गाउँपालिका कार्यालयमा आयोजित विशेष कार्यक्रमका अबसरमा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री तथा प्रदेशसभा सदस्य कुमारी मोक्तान, प्रदेश योजना आयोग सदस्य प्रल्हाद लामिछाने, प्रदेश सांसद प्रेमबहादुर पुलामी, राष्ट्रिय भुमि आयोग मकवानपुरका अध्यक्ष विष्णु प्रसाद दाहाल, गाउँपालिका अध्यक्ष सर्केश घलानले सामूहिक रुपमा लालपुर्जा वितरण गरेका हुन् ।

बागमतीको वडा नम्बर ४ का २८ जना र ५ नम्बर वडाका २ जना गरी ३० जना भूमिहीन सुकुम्बासीलाई पुर्जा वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यसअघि चैत २०७७ सालमा ३ जनालाई लालपुर्जा वितरण गरेको थियो । हालसम्म बागमतीका ३३ जनाले पुर्जा पाएको गाउँपालिका अध्यक्ष घलानले जानकारी दिए । मन्त्री मोक्तानले हिजो जनताकै अधिकारका लागि लडेर आएकाले नै फलस्वरुप जनताले अहिले हातहातमा पुर्जा पाउन सफल भएको दाबी गरेकी छन् ।

सांसद पुलामीले घरघरमा सिंहदबार भन्ने नाराले आज पूर्णता पाएको बताएका छन् ।गाउँपालिका अध्यक्ष घलानले पालिकाका १० हजार भूमिहिन, सुकुम्बासीहरुलाई पुर्जा वितरण गर्न बाँकी रहेको बताए । उनले ५ हजार पुर्जा तयारी अवस्थामा रहेको बताए । उनले प्राथमिकताका साथ लालपुर्जा
वितरणलाई गाउँपालिकाले निरन्तरता दिने बताए । देशैभर भूमिहीन सुकुम्बासीलाई पुर्जा वितरण भएको जिल्लामा मकवानपुर र चितवन छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*