हेटौंडा डान्सबारमा चक्कु प्रहार, तीन जना घाइते

साझाकुरा
२०७९ पुष १८, सोमबार १२:१२

हेटौंडा-जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट करिब २ सय मिटर नजिक रहेको हेटौंडा डान्सबारमा आइतबार बिहान युवाहरुबीच हतियार प्रयोग गरेर कुटपिट भएको छ । आइतबार बिहान १ बजेको समयमा हेटौंडा–१०, स्थित बसपार्क नजिकको डान्सबारमा युवाहरु र डान्सबारका सञ्चालक र कर्मचारीबीच झडप भएको हो । झगडा पनि डान्सबारमा बिल तिर्ने क्रममा विवाद भएपछि सुरु भएको प्रहरीले जानकारी दिएको छ । विवाद हुँदा युवाहरुको समूहले सञ्चालक र कर्मचारीमाथि चक्कु प्रहार गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

हेटौंडामै चुक्का प्रहारबाट एक जनालाई घाइते बनाएको घटना सेलाउन नपाउँदै अर्को चक्कु प्रहारको घटना दोहोरिएको हो । डान्सबारमा मादक पदार्थ सेवन गरेर केही युवाहरुले चक्कु प्रहार गर्दा होटलका सञ्चालक सहित तीन जना घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरीले धारिलो हतियार प्रहार गर्ने चार जना युवाहरुलाई नियन्त्रणमा लिई हिरासतमा राखेर घटना बारे थप अनुसन्धान गरेको छ । घटनामा संलग्न भएको आरोपमा १० नम्बर वडा बसर्पाक बस्ने ३७ वर्षीय बिक्रम श्रेष्ठ, आनन्द टोल बस्ने ४१ वर्षीय बिष्णुलाल योञ्जन, सोही स्थानका ३१ वर्षीय निमा योन्जन र हेटौंडा–१ बस्ने ४० वर्षका सुरेश महर्जनलाई पक्राउ परेका छन् ।

उनीहरुले मादक पदार्थ सेवन गरेर डान्सबारमा बिल तिर्ने क्रममा झगडा भई कुटपिट गर्दा सञ्चालक र कर्मचारी घाइते भएको र उनीहरुको साथबाट एक थान चक्कु बरामद गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । धारिलो हतियार (चक्कु) प्रहारबाट डान्सबारका संचालक हेटौंडा–१ बस्ने ४० वर्षीय सञ्जय लामा घाइते भएका छन् । उनको निधारमा चोट लागेको र उपचारपछि ५ वटा टाँका लगाइएको डिएसपी कार्कीले जानकारी दिए । डान्सबारका कर्मचारी हेटौंडा–४ बस्ने २४ वर्षीय विजयकुमार मोक्तान घाइते भएका छन् । उनको नाक र ओठमा धारिलो हतियारले काटेको जस्तो रहेको र १७ वटा टाँका लगाइएको डिएसपी कार्कीले जानकारी दिए ।

अर्का कर्मचारी हेटौंडा–४ बस्ने २८ वर्षीय रोशन श्रेष्ठ पनि घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । हेटौंडामा पछिल्लो समय अपराधिक घटनाहरु निरन्तर बढेका छन् । जानकारहरुका अनुसार राजनीतिक संरक्षणको आधारमा अपराधिक क्रियाकलापहरु बढेका हुन् । केही महिनाअघि हेटौंडा–८, कमानेकी एक युवतीमाथि एक युवकले चक्कु प्रहार गरेका थिए । आरोपित युवक जिल्ला अदालतको आदेशपछि
धरौटीमा रिहा भएका थिए । महिला अधिकारकर्मीहरुले धरौटीमा रिहा भएपछि पीडित युवती थप त्रासमा रहेको बताएका छन् ।

केही दिनअघि हेटौंडा–२, मानस चोक नजिक उच्च अदालत पाटन हेटौंडा इजलाश र आर्थिक मामिला तथा योजना मन्त्रालय अगाडि ५ नम्बर वडा बस्ने डानियल न्यौपानेमाथि पनि चक्कु प्रहार भएको थियो । उनको पेट र पाखुरामा गरेर करिब आधा दर्जन चक्कु प्रहार भएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ भने एक जनालाई पक्राउ गरिएको छैन् । पीडित न्यौपानेले राजनीतिक
संरक्षण पाएकै कारण प्रहरीले एक जनालाई पक्राउ गर्न नसकेको पत्रकार सम्मेलन गरेर गुनासो गरेका थिए । राजनीतिक संरक्षणमा हुने अपराधिक क्रियाकलापप्रति प्रहरी गम्भिर नबन्दा आममानिस माथि असुरक्ष बढेको घटनाका पीडितदेखि नागरिहरु बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*