भीमफेदीमा ३०–३५ जना विद्यार्थीको कपाल काटिएको घटना के हो ?

साझाकुरा
२०७९ पुष १९, मंगलवार १०:५३

हेटौंडा-जिल्लाको पुरानो सदरमुकामसमेत रहेको भीमफेदी बजारस्थित महेन्द्र माध्यमिक विद्यालयका करिब ३० देखि ३५ जना विद्यार्थीलाई सजाय दिइएको छ ।विद्यार्थी–विद्यार्थीबीच दैनिक झैझगडा गर्ने र कक्षा कोठामा समेत अनावश्यक रुपमा होहल्ला गर्ने छात्र विद्यार्थीहरुलाई विद्यालय, वडाका प्रतिनिधिको रोहबरमा सोमबार इलाका प्रहरी कार्यालय भीमफेदीले सजाय दिएको हो । भविष्यको खोजीमा अध्ययन गरिरहेका छात्र विद्यार्थीहरुको आचरण नराम्रो भएको विद्यालयको गुनासोप्रति इप्रका भीमफेदीले ८, ९ र १० कक्षामा पढ्ने करिब ३५ जना छात्रलाई सम्झाउने र कपाल काटेर सजाय दिएको हो ।

इप्रका भीमफेदीका इञ्चार्ज प्रहरी निरीक्षक प्रतिमा कार्कीले विद्यालयका प्रधानाध्यापक, शिक्षक र वडा कार्यालयका जनप्रतिनिधिहरुको रोहबरमा विद्यार्थीहरुलाई सम्झाएर पठाइएको बताइन् ।सोमबार ८ कक्षामा अध्ययनरत् करिब १४ वर्षका छात्रमाथि ३ जना छात्रहरुले कुटपिट गरेर घाइते बनाएपछि विद्यालय प्रशासन प्रहरीकोमा पुगेको थियो । कुटपिटबाट उक्त बालकको कानमा चोट लागेको र थप उपचारका लागि हेटौंडा अस्पताल ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिइन् । ‘९ र १० कक्षाका विद्यार्थीहरुको ग्याङग्याङ रहेछ । भीमफेदी ग्याङ, धोर्सिङ ग्याङको नाम दिइएको रहेछ ।

दिनकै उनीहरुले साना विद्यार्थीहरुलाई पिट्ने, कक्षा कोठामा ह्यारेसमेन्ट गर्ने गरेका रहेछन् । एकआपसमा दिनकै झगडा गर्न थालेपछि विद्यालय नै इप्रका कार्यालयमा आएर विद्यार्थीहरुलाई सम्झाई दिन आग्रह गरेको हो,’ कार्कीले भनिन् ।विद्यार्थी भन्न नसुहाउने गरी कपाल काटेका करिब ३५ जनाको कपाल छोटो बनाएर काटिएको तर प्रचार गरे जस्तो टाउको मुण्डन नै नगरिएको प्रहरी निरीक्षक कार्कीको भनाई छ । ‘कपाल लामोलामो पालेर आउने गरेको, विद्यालयको निर्देशन पालन नगरेको भएपछि हामीलाई गुनासो आएको हो ।

विद्यालयकै आग्रहमा सैलुनमा कपाल काटिएको हो,’ कार्कीले भनिन् । उनले कपाल काट्ने कार्य गलत नभएको र कुनै धार्मिक संस्कृतिप्रति लक्षित नगरी विद्यार्थीमा हुनुपर्ने गुणका बारेमा सम्झाउन गरिएको बताएकी छन् । ठूलो कक्षाका विद्यार्थीहरुले सानो कक्षाका विद्यार्थीहरुलाई बाटोमै छेकेर विद्यालय आउन नदिनेसम्मको कार्य गरेको र मुख छोपेर शरिरमा अन्धधुन्द प्रहार गर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको कार्कीले जानकारी दिएकी छन् ।भीमफेदी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष पावती रानाले विद्यार्थीहरुको कपाल मुण्डन गर्ने अधिकार कसले दियो भन्दै प्रश्न गरेकी छन् । गल्ती भएको अवस्थामा विद्यालयमा छलफल गरिनुपर्ने उनको भनाई छ ।

विद्यार्थीहरुको कपाल काटिएको विषयमा भने अभिभावकहरुले गुनासो गरेका छन् । अभिभावक विनेश रानाले आफ्नो छोराको कपाल काटिएको भन्दै गुनासो गरे । गल्ती गर्नेको पहिचान नगरी आफ्नो छोराको कपाल काटिएको उनले आरोप लगाए । केही अभिभावकहरुले भने आफ्ना छोराछोरीले गरेको गल्ती अभिभावकलाई ढिला नै थाहा हुने भन्दै सम्झाईबुझाई गर्दै लामो कपाल काटेर पठाइको घटनालाई अतिरञ्जित बनाउन नहुने धारणा राखेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*