बकैयाका किसानलाई थुनेलो रोग नियन्त्रण गर्न सिकाइँदै

हेटौंडा- बकैया गाउँपालिकाको दुग्ध उत्पादक कृषकहरुलाई थुनेलो रोग नियन्त्रण सम्बन्धी जानकारी प्रदान गरिएको छ । बागमती प्रदेश दुग्ध विकास बोर्डले स्थलगत रुपमा गाउँपालिकाको हात्तिसँुढेमा कार्यक्रम आयोजना गरेर थुनोलो रोगसम्बन्धी अभिमूखिकरण गरेको छ । दुग्ध उत्पादक कृषकहरुसहित सरोकारवालाहरुको उपस्थिति रहेको कार्यक्रममा किसानहरुको प्रमुख समस्या गाईभैंसीमा लाग्ने थुनेलो रोग भएको हुँदा थुनेलोले दुग्ध उत्पादनमा ह्रास आउने मात्र नभई पशुको मृत्युसमेत हुने गरेको जनाइएको छ । कार्यक्रमको अवसरमा बोर्डले थुनेलो नियन्त्रणका लागि टिट डिप कप, टिट डिपिङ केमिकल किसानहरुलाई हस्तान्तरण गरेको छ । बोर्डले पालिका र हात्तिसुँढे दुग्ध उत्पादक सहकारी संस्थालाई सीएमटी रिएजेन्ट र प्यान्डल वितरण गरेको थियो ।
बोर्डका निर्देशक डा. सजिना ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा पालिका उपाध्यक्ष भक्तबहादुर खत्रीको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा बोल्दै खत्रीले किसानमैत्री पालिका बकैयामा दुग्ध उत्पादकत्व बढाउन थुनेलोसम्बन्धी कार्यक्रम राख्नाले किसान खुशी भएको बताउँदै यस्ता क्रियाकलाप बढाउनसमेत आग्रह गरेका थिए ।हात्तिसुँढे दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्ष तोयानाथ दाहालले किसालहरुले कतिपय रोग थाहा नपाउँदा पनि बाध्य भएर विभिन्न दुःख पाउनु परेको बताए । प्रदेश दुग्ध विकास बोर्डका अधिकृत डा. उमेश थापाले सहजीकरण
गरेको कार्यक्रममा गाउँपालिकाको कृषि अधिकृत अशोककुमार सिंह लगायतको उपस्थिति थियो ।