मकवानपुरमा नेवार समुदायका सांसददेखि कर्मचारीसम्म सम्मानित

साझाकुरा
२०७९ पुष २४, आईतवार १२:४२

हेटौंडा-मकवानपुरमा नेवार समुदायबाट निर्वाचित जनप्रतिनिधिदेखि अधिवक्ता, कर्मचारी, प्राध्यापक, समाजसेवीलाई एकै पटक सम्मान प्रदान गरिएको छ ।नेवाः गुठी खलः मकवानपुरले दोश्रो वार्षिक साधारण सभाको अबसरमा आफ्नो समुदायबाट सबै क्षेत्रमा प्रतिनिधित्व गर्नेहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरेको हो । खलःले नेवार समुदायबाट निर्वाचित प्रदेश सांसदहरु, न्यायाधीशहरु, प्रदेश न्यायाधिवक्ता, गाउँपालिका उपाध्यक्षहरु, वडा अध्यक्षहरु, सदस्य, हेटौंडा कार्यपालिका सदस्य, जिल्ला समन्वय समिति मकवानपुरका सदस्य, सरकारी कर्मचारीहरु, प्राध्यापक, समाजसेवीसहित ३० जनालाई सम्मान गरिएको हो ।

साधारण सभामा उच्च अदालत पाटन हेटौंडा इजलाशकी न्यायाधीश मेरिना श्रेष्ठको प्रमुख अतिथ्यता तथा उच्च अदालत पाटन हेटौंडा ईजालशकी न्यायाधीश निर्मला शाक्य र बागमती प्रदेशका सांसद एकालाल श्रेष्ठको विशेष आतिथ्य रहेको थियो । प्रदेश सांसद एकालाल श्रेष्ठले नेवार समुदायलाई अगाडि बढाउँदै समाजकै विकासका लागि नेवार समुदायका अगुवाहरु पनि हरेक क्षेत्रमा प्रतिष्पर्धा गर्दै नेतृत्वमा जान हिच्किचाउन नहुनेमा जोड दिए ।

बागमती प्रदेशका मुख्यन्यायाधिवक्ता श्यामनारायण श्रेष्ठले राज्यको विभेदकारी नीतिका कारण नेवारी भाषा, संस्कृति लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै सरकारसँगै नेवार समुदाय गम्भीर हुनुपर्ने बताए । नेवाः गुठी खलः मकवानपुरका अध्यक्ष अनिल खड्गेको सभाध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका उपमेयर भरत गोपाली, हेटौंडाको वडा नम्बर २ का अध्यक्ष विष्णुगोपाल महर्जन, नेपाल चेम्बर अफ कमर्स बागमती प्रदेश अध्यक्ष सिद्धिलाल श्रेष्ठ, नेवाः देय् दबु मकवानपुरका संस्थापक अध्यक्ष देवप्रसाद श्रेष्ठलगायतको आतिथ्यता थियो ।

नेवाः गुठी खलः मकवानपुरका महासचिव देवकुमार श्रेष्ठले संचालन गरेको कार्यक्रममा बागमती प्रदेशका खानेपानी तथा उर्जा मन्त्रालयका सचिव मोहनकुमार शाक्य, भीमफेदी गाउँपालिका उपाध्यक्ष संजीव श्रेष्ठ, हेटौंडा उपमहानगरपालिका कार्यपालिका सदस्य साधना श्रेष्ठलगायतको उपस्थिति थियो ।श्रेष्ठ नेवाः गुठी खलःको अध्यक्ष चयनसाधारणसभाको अवसरमा श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय तदर्थ कार्यसमिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा अनुषा श्रेष्ठ, सचिवमा राजेश नगरकोटी, कोषाध्यक्षमा अर्चिता श्रेष्ठ, सहसचिवमा अनिल गोपाली, सदस्यहरुमा श्यामकृष्ण श्रेष्ठ, विकी खड्गी, रेणु श्रेष्ठ र निराजन श्रेष्ठ रहेका छन् । नेवाः गुठी खलः मकवानपुरका अध्यक्ष अनिल खड्गे, उपाध्यक्षहरु यज्ञबहादुर श्रेष्ठ, मेनुका श्रेष्ठ, महासचिव देवकुमार श्रेष्ठ लगायतले खलः हेटौंडा उपमहानगरपालिका तदर्थ कार्यसमितिलाई फूलमाला लगाएर बधाई तथा शुभकामना दिएका थिए । खलःले हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १० र ११ मा वडा समिति गठन गरिसकेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*