मकवानपुरका ३ जनालाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार
हेटौंडा- मकवानपुरको तीन स्थानीय तहका तीन जना कृषकहरुलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदानगरिएको छ । कृषि क्षेत्रमा उत्कृष्ट काम गरे बापत मकवानपुरका ३ जना कृषकहरुलाई भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र हेटौंडाले पुरस्कृत गरेको हो । मकवानपुरगढी गाउँपालिका, थाहा नगरपालिका र हेटौंडाका ३ जना व्यवसायिक कृषकहरुलाई पुरस्कार दिइएको हो ।
हेटौंडा–१३ मा ड्रागन फुड खेती गर्दै आएका एमएनएस एग्रो प्रालिका युवा उद्यमी फेन्चु लामा, मकवानपुरगढीका बाख्रा पालक किसान पीएसपी एग्रो प्रालिका सन्जय नेपाल र थाहा नगरपालिकाको रेन्बो ट्राउट माछा पालक किसान युनिक कृषि फर्मका कृष्णबहादुर मोक्तानलाई पुरस्कृत गरिएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललितबहादुर घलानले कृषकले निरन्तर प्रयासपछि प्राप्त गरेको उपलब्धिलाई उच्चकदर गर्नु आवश्यक रहेको बताए । उनले कृषकहरुको आत्मबल बढाउन यस किमिसका पुरस्कारहरुले मद्दत पु¥याएको बताएका छन् ।कृषि क्षेत्रलाई उद्यमको रुपमा लिएर लामो समयदेखि काम गर्दै आएका उनीहरुलाई जनही नगद २४ हजार र कदर पत्र प्रदान गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका निमित्त प्रमुख ब्रजकिशोर ठाकुरले जानकारी दिए ।







