बागमतीका उद्योग मन्त्रीको १७ बुँदे उपलब्धि सार्वजनिक

हेटौंडा- बागमती प्रदेशको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले सरकारबाट बिदा हुँदै गर्दा करिब १४ महिने कार्यकालमा गरेका उपलब्धि सार्वजनिक गरेका छन् । २०७८ कार्तिकमा मन्त्री बनेका श्रेष्ठले आफ्नो उपलब्धिलाई १७ बुँदामा उल्लेख गरेका छन् । बिहीबार मन्त्रालयका कर्मचारीहरुले आयोजना गरेको बिदाई कार्यक्रम तथा पत्रकारहरुसँग भेट गर्दै मन्त्री श्रेष्ठले करिब १४ महिनामा गरेका कामहरुको फेहरिस्त सुनाए ।
बागमती प्रदेशमा ११ हजार ४ सय ६१ वटा उद्योग दर्ता भएको मन्त्री श्रेष्ठले जानकारी दिएका छन् । ७ हजार १ सय ६९ वटा वाणिज्य फर्महरु दर्ता रहेको उनले बताए । प्रदेशमा उद्योग तथा व्यापारका साथै उद्यमीको प्रवद्र्धनको निम्ति कुल १७ वटा पूर्वाधार निर्माण गरिएको पनि उनले सुनाएका छन् । उद्यमीहरुको क्षमता विकास तथा प्रवद्र्धनका लागि कुल ९ सय २६ वटा उद्योगलाई लागत साझेदारीमा प्रविधि हस्तान्तरण गरिएको पनि कार्यक्रमकाबीच जानकारी गराइएको थियो । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा विदेशी लगानीमा रासायनिक मल उत्पादन कारखानाको स्थापनाको प्रक्रिया अघि बढेको पनि मन्त्री श्रेष्ठले जानकारी दिए । आफ्नो कार्यकालभर १ सय ७० पटक बजार अनुगमन गरिएको उनले बताए ।
मन्त्री श्रेष्ठले मातहतका कार्यालयबाट प्रदान गरिने सेवा प्रवाहमा एकरुपता ल्याउन एकीकृत नागरिक वडापत्र ल्याइएको पनि बताए ।
यसबीचमा प्रदेश हस्ताकलाग्राम स्थापना तथा सञ्चालन सम्बन्धी अध्यादेश, प्रविधि हस्तान्तरण सम्बन्धी कार्यविधि, सीप विकास तथा तालिम सञ्चालन सम्बन्धी कार्यविधि स्वीकृत भएको मन्त्रालयले बताएको छ । प्रदेश औद्योगिक व्यवसाय नियमावली, प्रादेशिक व्यापार तथा व्यवसाय नियमावलीको मस्यौदा स्वीकृत हुने क्रममा रहेको पनि बताइएको छ ।
करिब एक महिनादेखि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालिरहेका श्रेष्ठले मन्त्रालयले हालसम्म गरेका गतिविधिहरु पनि सार्वजनिक गरेका थिए । कार्यक्रममा उद्योग राज्यमन्त्री रजनी जोन्छे, उद्योग सचिव विश्वबाबु पुडासैनी लगायतको उपस्थिति थियो ।