युवालाई रोजगारीमा जोड्न स्थानीय स्तरमै कार्यक्रमः मेयर लामा

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले युवाहरुलाई रोजगारीमा जोड्न स्थानीयस्तरमै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताएकी छन् । हेटौंडा–१६ को विकट गाउँ आकाशधारामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै मेयर लामाले यस्तो बताएकी हुन् । उनले उपमहानगरले नगरभित्रका नागरिकहरुको आर्थिक आयस्तर बढाउन विभिन्न स्वरोजगार कार्यक्रम गरिरहेको बताउँदै त्यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिइन् । मेयर लामाले गत आर्थिक वर्ष २०७८÷७९ र चालु आर्थिक वर्ष २०७९÷८० मा हेटौंडा–१६ मा उपमहानगरपालिकाले गरेका विकास निर्माणका काम, सुशासन र सेवा प्रवाहलगायत विषयमासमेत जानकारी दिएकी थिइन् ।
कार्यक्रममा बोल्दै उपमेयर राजेश बानियाँले नगरकै विकट क्षेत्र भएकाले आकाशधारा, पानीसारालगायत क्षेत्रको विकासमा प्राथमिकता दिएको बताए । उपमेयर लामाले निर्वाचनमा गरेको प्रतिबद्धताहरु पुरा गर्ने गरी कामहरु अघि बढेको बताए । उनले उपमहानगरले सुगम भन्दा दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको बताउँदै यहाँको खानेपानी, स्वास्थ्य र शिक्षाको समस्यालाई समाधान गर्नेतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । ‘हामीले नगरका अन्य वडाहरुमा भन्दा ग्रामीण क्षेत्रको विकासमा प्राथमिकता दिएका छौं’, उनले भने, ‘तपाईहरुले उठाउनुभएको विकास निर्माणका विषयहरु हामी क्रमशः सम्बोधन गर्दै जानेछौं ।’
हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौँलागाईले हेटौंडा उपमहानगरपालिकाले आफ्नो सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै लैजाने बताए । ‘कार्यालयमा आएका सेवाग्राहीलाई फर्काउने हाम्रो चाहना हुँदैन तर, कतिपय कागजात नपुग्दा काम नभएको हुनसक्छ, हामीले मुस्कानसहितको सेवा दिँदै सबै सेवाग्राहीलाई खुशी बनाएर पठाउने हाम्रो लक्ष्य हो ।’
कार्यक्रममा स्थानीयहरुले लालपूर्जा, खानेपानी, शिक्षा, स्वास्थ्य, विकास निर्माण र उपमहानगरपालिकाको सेवा प्रवाहका बारेमा जिज्ञासा राखेका थिए । तामाङ बाहुल्य रहेको यस बस्तीका बासिन्दाले लामो समयदेखि पहल गरेपनि आफूले हकभोग गरेको जमिनका लालपूर्जा पाउन सकेका छैनन् । त्यस्तै, खानेपानी, शिक्षा र स्वास्थ्यको पनि समस्या छ ।