बागमतीले आज दोस्रो सभामुख पाउँदै, तीन जनाको उम्मेदवारी
हेटौंडा- बागमती प्रदेशसभाले आज शुक्रबार दोस्रो कार्यकालका लागि दोस्रो सभामुख पाउँदैछ । आज ११ बजेदेखि सुरु हुने सभामुख निर्वाचनका लागि ३ जना प्रतिस्पर्धामा छन् ।तीन जनाबीच हुने प्रतिस्पर्धाबाट बागमतीले दोस्रो सभामुख पाउन लागेको हो । प्रदेशसभाको पहिलो कार्यकालमा सभामुख सानुकुमार श्रेष्ठ थिए । आगामी पाँच वर्षका लागि निर्वाचनमा होमिएका भुवनकुमार पाठक, शिवराज अधिकारी र सिर्जना सयजुमध्ये एक जना सभामुख हुने पक्का छ । निर्वाचनको कार्यतालिका अनुसार बिहिबार प्रदेशसभा सचिवालयमा पुगेर ३ जनाले सभामुखको लागि उम्मेदवारी दिएका हुन् । सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भुवनकुमार पाठकले उम्मेदवार छन् ।
पाठकलाई नेकपा एमालेले प्रस्ताव र नेकपा माओवादी केन्द्रले समर्थन गरेको छ । उनको प्रस्तावकमा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा नेकपा माओवादी केन्द्रका सांसद युवराज दुलाल रहेका छन् । बागमतीमा सत्ता गठबन्धनमा एमाले, माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी छ । गठबन्धन एमाले, माओवादी र राप्रपाबीच भएपनि बागमतीमा सरकार गठनका लागि एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले पनि समर्थन दिएका थिए ।
सत्ता गठबन्धन कायमै रहेको अवस्थामा सभामुखमा उम्मेदवार पाठक निर्वाचित हुने लगभग पक्का छन् । गठबन्धनसँग मात्रै ७० जना सांसद रहेका छन् । १ सय १० सदस्यीय प्रदेशसभामा ७० सांसदको समर्थनमा सरकार बनेको छ । अर्थात पाठकको पक्षमा ७० जना सांसद देखिएका छन् । यसैगरी, सभामुखकै लागि बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि उम्मेदवारी दिएको छ । नेपाली कांग्रेसको तर्फबाट शिवराज अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । अधिकारीको प्रस्तावकमा सांसद कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार छन् ।
अधिकारीको पक्षमा हालसम्म ३७ सांसद मात्रै छन् । सरकारलाई समर्थन नगरेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले पनि सभामुखमा उम्मेदवारी दिएपछि कांग्रेसको ३७ मत अधिकारीलाई जाने देखिन्छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की सिर्जना सैयजुले पनि सभामुख पदमा उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा सांसद गीता काफ्ले र समर्थकमा नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाई रहेका छन् । नेमकिपाको प्रदेशसभामा ३ मत रहेको छ ।
सभामुख पदको उम्मेदवारी दर्ता गराउने समय बिहीबार दिउँसो २ः३० बजेसम्मका लागि तोकिएको थियो । तीन जनाले २ बजेभित्र नै मनोनयन दर्ता गराएका थिए । प्रदेशसभामा सभामुखका लागि पाठक, अधिकारी र सैयजुबीच त्रिपक्षी प्रतिस्पर्धा हुने तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी सुन्दर बाँस्कोटाले जानकारी दिए । बागमती प्रदेशसभाको आज शुक्रबार बिहान ११ बजे बस्ने बैठकले सभामुख चयन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव एवं निर्वाचन अधिकृत कृष्णहरि खड्काले जानकारी दिए । प्रदेशसमा सरकार गठन गर्दा संसदको ५ दलका ७० सांसदले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई समर्थन गरेका थिए ।
केन्द्रमा रहेको सत्ता गठबन्धनको ३ वटा दलमात्रै बागमती प्रदेशसभामा रहेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपा । तर, मुख्यमन्त्री जम्मकट्टेललाई गठबन्धनबाहिर रहेको नेकपा एकिकृत समाजवादी र हाम्रो नेपाली पार्टीले पनि समर्थन गरेको थियो । मुख्यमन्त्री जम्मकट्टेललाई समर्थनगरेका समाजवादी र हाम्रो नेपाली पार्टीले सभामुखमा आफ्नो उम्मेदवार उठाएको छैन । त्यसैले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका राप्रपा महामन्त्री पाठकले मुख्यमन्त्रीलाई समर्थन गरेका ५ वटै दलबाट मत पाउने भएको छ ।
प्रदेशसभामा नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १३, समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ मत छ । यसरी हेर्दा पाठकको पक्षमा ७० मत खस्ने सम्भावना देखिन्छ । सभामुखमा निर्वाचित हुनको लागि ५६ मत भए पुग्छ । संसदको सबैभन्दा ठुलो दल अर्थात प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेदवार अधिकारीलाई नेपाली कांग्रेसको ३७ सांसदको साथ रहेको छ । नेमकिपाका ३ सांसद प्रदेशसभामा रहेका छन् । सत्तारुढ दलको केन्द्रीय भागबण्डाअनुसार मुख्यमन्त्री माओवादी केन्द्रले, सभामुख राप्रपा र उपसभामुख एमालेले पाउने निर्णय भएको थियो । उपसभामुखका लागि एमालेले हालसम्म उम्मेदवार चयन नगरेको जनाइएको छ ।
सात दलीय गठबन्धनको सत्ता भागबण्डामा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाका पाठक सभामुख बन्ने निश्चित जस्तै छ । सत्तारुढ गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्र र नेकपा एमालेलाई आलोपालो, सभामुख राप्रपा तथा उपसभामुख एमालेलाई भाग लगाएको थियो । उपसभामुख चयन प्रक्रियाको भने अझै टुंगो लागेको छैन ।







