स्कुटर दुर्घटना हुँदा ३ जनाको मृत्यु

साझाकुरा
२०७९ पुष २९, शुक्रबार १०:२१

पूर्व–पश्चिम राजमार्गस्थित मकवानपुरको मनहरी गाउँपालिका—९ भलादमी चोक नजिक सवारी साधनको ठक्करबाट ३ जनाको मृत्यु भएको छ ।बिहीबार राति करिब १० बजेतिर ना ३९ प १४३९ नम्बरको स्कुटरलाई सवारी साधनले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको अहिलेसम्म पहिचान हुन सकेको छैन । स्कुटरमा सवार मनहरी गाउँपालिका ८ का ३२ वर्षीय धर्मराज मोक्तान, मिलन मोक्तान र राक्सिराङ गाउँपालिका—३ का रुपेश तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

रुपेश र मिलनको भरतपुरस्थित पुरानो मेडिकल अस्पतालमा पु¥याउने बित्तिक्कै मृत्यु भएको थियो भने धर्मराजको शुक्रबार बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तीनै जना एउटै स्कुटरमा सवार थिए । उक्त दुर्घटनाका कारण आक्रोशित स्थानीयले बिहीबार राति ११ बजेदेखि बिहान ६ बजेसम्म राजमार्ग ठप्प पारेका थिए । ठक्कर दिने सवारी साधनको तत्काल पत्ता लगाउने सहमतिमा राजमार्ग खुलाइएको छ । ठक्कर दिने सवारी साधनको खोजी गरिरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*