प्रदेशसभा उपसभामुखको निर्वाचन आज हुँदै

साझाकुरा
२०७९ माघ २, सोमबार १४:२९

हेटौंडा- बागमती प्रदेशको उपसभामुख पदको लागि आज सोमबार निर्वाचन हुँदैछ । शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा उपसभामुखको लागि निर्वाचन हुन लागेको हो । आज बस्ने प्रदेशसभा बैठकमा उपसभामुखको लागि मत विभाजन हुने प्रदेशसभा सचिवालयले जनाएको छ । शुक्रबार निर्वाचन प्रणाली मार्फत नै सभामुख चयन गरेको बागमतीमा उपसभामुखको लागि सोमबार निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक भएको थियो ।

उपसभामुखको लागि तीन जनाको उम्मेदवारी शुक्रबार नै दर्ता भइसकेको छ । सत्ता गठबन्धनबाट एमालेकी अप्सरा चापागाईं, कांग्रेसकी सुना परियार र नेपाल मजदुर किसान पार्टीकी रिता काफ्लेले उपसभामुखमा उम्मेदवारी दर्ता गराएका हुन् । ७ दलीय गठबन्धनको सत्ता भागबण्डामा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा र उपसभामुख एमालेको भागमा परेको थियो । जसअनुसार राप्रपाका भुवन पाठक सभामुखमा निर्वाचित भएर पदभार ग्रहण गरिसकेका छन् ।

उपसभामुख पनि गठबन्धनकै भागमा पर्ने लगभग निश्चित जस्तै छ । तर लोकतान्त्रिक अभ्यासमा रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले उपसभामुखको पनि उम्मेदवार उठाएको छ । संसदको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले पनि लोकतान्त्रिक पार्टी भएको कारण निर्वाचनमा जान चाहेको भन्दै उम्मेदवार उठाएको छ ।

११० सदस्यीय बागमती प्रदेश सभामा ७ राजनीतिक दलको नेतृत्व छ । प्रदेशसभाको ५ दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा सहित एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी पनि सरकारलाई समर्थन गर्दै गठबन्धनमा मिसिएको छ । कांग्रेस प्रमुख प्रतिपक्षमा छ भने नेमकिपा पनि प्रतिपक्षमा छ ।

समाजवादीले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई समर्थन गरेको भएपनि सभामुखमा राप्रपा उम्मेदवारलाई भने सहयोग गरेको थिएन । सभामुख निर्वाचनमा समाजवादी तटस्थ बसेको थियो । त्यसैले आज हुन लागेको उपसभामुखको निर्वाचनमा पनि समाजवादीको भुमिका के हुन्छ भन्न सक्ने अवस्था छैन । समाजवादीको समर्थन नरहेपनि सत्ता गठबन्धनलाई खासै असर पर्ने देखिदैन ।

प्रतिपक्षमा रहेका दुई दलले पनि आ–आफ्नो उम्मेदवार खडा गरेको छ । सभामुखको निर्वाचनमा भाग लिएको नेपाली कांग्रेस र नेमकिपाले उपसभामुखमा पनि उम्मेदवार उठाएको छ । नेमकिपाको बागमती प्रदेश सभामा ३ सिट छ । प्रदेश सभाको ठुलो दल समेत रहेको नेपाली कांग्रेसको ३७ सिट छ । तर सरकारमा जान बहुमत नपुग्ने भएपछि अहिले कांग्रेस ठुलो दल भएपनि प्रमुख प्रतिपक्षको भूमिकामा रहेको छ ।

कांग्रेस एक्लै रहेता पनि गठबन्धनको साथ खोज्दै सभामुखमा उम्मेदवारी दर्ता गराएको कांग्रेसले आफ्नो बाहेक अन्य दलको एक मत पनि पाउन सकेन । शुक्रबार भएको निर्वाचनमा ३६ मत ल्याएर दोस्रो भएका शिवराज अधिकारी दोस्रो भएपनि उपसभामुखका लागि पनि कांग्रेसले आफ्नो उम्मेदवार उठाएको छ ।

बागमतीको उपसभामुखमा एमालेकी अप्सरा चापागाईंको सम्भावना बढी छ । उनलाई प्रत्यक्ष ४ दलको समर्थन छ । एमाले, माओवादी, राप्रपा र हाम्रो नेपाली पार्टीले सभामुखलाई आएको मत नै आधार मान्ने हो भने उपसभामुख पनि एमालेले नै पाउनेमा शंका छैन । जसअनुसार ११० सांसदमध्ये चापागाईंलाई पनि ६२ मत मत आउने निश्चित छ । यता, कांग्रेसको ३७ सांसद छन् ।

कांग्रेसबाट सभामुखको उम्मेदवार बनेका शिवराज अधिकारीले एक सांसद अनुपस्थित हुँदा ३६ मत पाएका थिए । यदी अन्य दलको समर्थन सभामुखलाई जस्तै गरि उपसभामुखलाई पनि नआए सुना परियारले जित्ने सम्भावना रहँदैन । परियार निर्वाचित हुन ५६ सांसदको समर्थन आवश्यक हुन्छ । तर कांग्रेस मात्रैको समर्थनलेपरियार निर्वाचित हुने अवस्था छैन ।

त्यसो त सरकारको साथ खोजेर आफू पनि सहयोग गर्ने र आफ्नो पार्टीलई पनि सत्ता गठबन्धनले साथ दिनुपर्ने सर्त बोकेर सरकारमा मिसिन खोजेको कांग्रेसलाई गठबन्धनमा रहेका दलहरुले कांग्रेसको यो प्रस्तावलाई प्राथमिकतामा राखेको राखेन । जसरी पनि बहुमत पुग्ने भएपछि बाँडफाँडको चक्करमा गठबन्धन लाग्न नचाहेको प्रष्ट छ । त्यसो त ३ सिट मात्रै रहेको नेमकिमा प्रतिपक्षमा छ । जसका लागि ५६ सांसदको समर्थन पुर्याउनु मुस्किल मात्रै होइन, असम्भव पनि छ । संविधानको हक पालना गर्दै सहभागिता जनाएको बताउने नेमकिपा बाट उपसभामुख पाउनु कठिनको विषय हो ।

सभामुखको निर्वाचनमा पनि ३ मत मात्रै प्राप्त गरेको नेमकिपाले उपसभामुख उठाउनु कुनै लज्जाको बिषय नभएर अधिकार प्राप्ती गरेको ठानेको बताउँदै आएको छ । हालसम्मको सत्ता समीकरणलाई मध्यनजर गर्ने हो भने पनि गठबन्धनका साझा उम्मेदवार चापागाईँ नै बागमती प्रदेश सभाको दोस्रो उपसभामुख बन्ने लगभग निश्चित छ ।

यद्यपी चुनावी मैदानमा होमिएका तीन उम्मेदवार मध्ये कसको पल्लाभारी होला त्यो भने आज हुने निर्वाचनको मतपरिणाम पछि मात्रै थाहा हुनेछ । प्रदेशसभाको पहिलो कार्यकालमा नेकपा माओवादी केन्द्रकी राधिाका तामाङ उपसभामुख थिइन् । सभामुख पाइसकेको प्रदेशसभाले आज उपसभामुख पाएसँगै मुख्यमन्त्रीले भोली मंगलबार विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने उनको तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*