हेटौंडामा मनाइयो माघी महोत्सव
हेटौंडा-थारु जातिको महान् पर्व माघीको अवसरमा हेटौंडामा पाँचौ माघी महोत्सव आयोजना गरिएको छ । हेटौंडामा विगत पाँच वर्षदेखि माघी महोत्सव मनाउने क्रम चलिरहेको छ । हेटौंडामा थारु समुदायहरुको बसोबास बढ्दै जानुले माघी महोत्सवको रौनकता पनि बढेको हो । हेटौंडा–९, स्थित एचआइडी खेल मैदानमा भएको पाँचौ थारु माघी महोत्सवमा झाँकी, नाचगान, शुभकामना आदनप्रदानसँगै थारुको परिकारहरु र गहनाको स्टलहरु राखिएको थियो । महोत्सवमा घुंगीको बिशेष परिकार, माछाको अचार, तिल र भुजाको लड्डु लगायतको खानेकुरा स्टलहरुमा बिक्रीका लागि राखिएको थियो । महोत्सवमा विशेष लौरी नृत्य, थारु युवक–युवती, महिला र विभिन्न समुहले थारु, नेपाली र हिन्दी गित गायन तथा नृत्यसँगै थारुको कला, पोशाक, गहना, घरेलु सामग्रीहरु प्रस्तुत गरेका थिए ।
‘थारु संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा हाम्रो अभियान, न्याय, समानता र अधिकारका लागि हाम्रो आन्दोलन’ भन्ने नाराका साथ माघी महोत्सव मनाईएको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्य तथा पाँचौ थारु माघी महोत्सव मूल आयोजक समितिका संयोजक एवं थारु कल्याणकारिणी सभा मकवानपुरका सभापति हरिलाल चौधरीको अध्यक्षतामा महोत्सव उद्घाटन गरिएको थियो । कार्यक्रममा थारु कल्याणकारिणी सभाकी केन्द्रीय सदस्य जानकी चौधरी र नेपाल आदिवासी जनजाती महासंघका मकवानपुर अध्यक्ष जंगबहादुर गुरुङको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा नेपाल मगर संघ बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष होमबहादुर राना मगर, किराँत राई याःयोख्खा मकवानपुरका अध्यक्ष केबी राई, नेपाल तामाङ घेदुङका मकवानपुरका सचिव आत्माराम मोक्तान, दनुवार जागरण समिति मकवानपुरका सचिव कृष्ण बहादुर राई दनुवार, थारु कल्याणकारिणी सभा मकवानपुरका संस्थापक सचिव तथा नेपाल थारु संघ समाजवादीका केन्द्रीय अध्यक्ष शिवनाथ चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल मगर संघ मकवानपुरका अध्यक्ष सन्तोष तुम्सिङ मगर, थारु कल्याणकारिणी सभा मकवानपुरका संस्थापक सदस्य किशोर कुमार चौधरीलगायतको आतिथ्य रहेको थियो ।
माघी पर्व आदिवासी थारु समुदायको सबैभन्दा ठूलो चाड र नयाँ वर्ष पनि हो । यसपर्वमा थारुहरु आपसमा रमाइलो गर्ने, साथी–भाइबीच भातृत्व प्रेम तथा आदर सम्मान गर्ने गरिन्छ । नयाँ नीति नियम बनाउने, कार्यान्वयन गर्ने, नयाँ प्रतिवद्धता जनाउने तथा नयाँ कामको जिम्मेवारी बाँडफाँड गर्ने हुनाले यस पर्वलाई थारुले नयाँ वर्षको रुपमा मनाउने गर्दछन् ।







