मकवानपुरको गौरबको जनावर ‘सालक’ घोषणा गरिँदै
हेटौंडा- विश्वमा दुर्लभ मानिएको स्तनधारी जंगली जनावर सालकलाई मकवानपुरको गौरवको जनावरको रुपमा घोषणा गरिने भएको छ ।
डिभिन वन कार्यालय राप्तीले आगामी ६ फागुनमा एक कार्यक्रमको अबसरमा सालकलाई जिल्लाको गौरबको जनावरको रुपमा घोषणा गर्ने तयारी गरेको हो । ६ फागुनमा मनाइने अन्तराष्ट्रीय सालक दिवसको अबसरमा सालकलाई मकवानपुर जिल्लाको गौरबको जनावर घोषणा गर्न लागिएको राप्ती डिभिजन वन कार्यालय राप्तीका प्रमुख विष्णु प्रसाद आचार्यले जानकारी दिएका छन् । सालक अति लोपोन्मुख अवस्थामा रहेको शान्त स्वभावको स्तनधारी जनावर हो ।
सालक मनहरीका सामुदायिक वन तथा हेटौंडाको चुच्चेखोला सामुदायिक वनमा पाइन्छ । चुच्चेखोला सामुदायिक वनले सालक संरक्षणका लागि विगतदेखि नै अभियान चलाउँदै आइरहेको छ । सालकको बासस्थान व्यवस्थापन तथा संरक्षण गर्न जिल्लाका कयौं सामुदायिक वनहरु लागिपरेका छन् । सालकको मासु तथा छाला (खपटा) तस्करीसमेत हुने गरेको छ । सालकको संरक्षणका लागि बागमती प्रदेश सरकारले विगतमा बजेटसमेत छुट्याउँदै आएको थियो । विश्वबाट नै लोपोन्मुख अवस्थामा रहेको सालक मकवानपुरमा भने धेरै संख्यामा रहेको डिभिजन वन राप्तिका प्रमुख आचार्यले बताए । सालकको मासुले रोगव्याधी काट्ने पोषिलो हुने अन्धविस्वास र यसको खपटा दबाई हुन्छ भन्ने भ्रमका कारण चोरी निकासी भई लोप हुँदै गएको आचार्य बताउँछन् ।
थै साँघुरिदै गएको बासस्थान, वन क्षेत्रको अतिक्रमण, यसको बासस्थानमा अत्यधिक मानवीय गतिविधि र वन क्षेत्रमा भौतिक पूर्वाधार निर्माण र प्राकृतिक आहारको कमी हुँदै जानुले सालक लोपोन्मुख अवस्थामा पुगेको उनले बताए ।सालक संरक्षणका लागि डिभिजन वन कार्यालय राप्तिले विभिन्न योजनाहरुसमेत सार्वजनिक गरी अगाडी बढाइएको आचार्यले जानकारी दिएका छन् । सालकको संरक्षणको अवस्था, बासस्थान, परिस्थिकीय प्रणालीको ज्ञानमा अभिवृद्धि गर्ने, सालकको अवैध चोरी, शिकारी तथा व्यापार नियन्त्रण गर्ने, बासस्थानको संरक्षणका लागि खोजी एबम् व्यवस्थापन गर्ने, स्थानीय जनताको उत्तरदायित्वको वृद्धि गर्ने जस्ता कार्यहरु भइरहेको आचार्यले बताए । सालकलाई मानिसका लागि उपयुक्त जनावर मानिन्छ ।
सालकले बालीका कमिला र धमिरा खाने, पर्यावणलाई जोागाउन मद्दत पु¥याउने र मानिसलाई भने आक्रमण नगर्ने सालकको विशेषता हो । सालकमा १५ सेन्टिमिटर टाढाका किरा श्वासले तानेर खानसक्ने क्षमता हुन्छ भने केही खतरा महसुस हुनासाथ डल्लो परेर बस्ने गर्दछ । एउटा वयष्क सालकले एक वर्षमा सात करोड कमिला तथा धमिरा खाने गरेको वन प्राविधिकहरु बताउँछन् । प्वाल बनाएर जमीनमुनि बस्ने लजालु स्वभावको जनावर सालक विशेषगरी रातको समयमा मात्रै बाहिर निस्कने डिभिजन कार्यालय राप्तिका प्रमुख आचार्यले बताए । यहाँका अधिकांश सामुदायिक वनमा पाइने दुर्लभ सालक मकवानपुरमा कति छ भन्ने स्पष्ट तथ्यांक भने छैन् ।
सालक संरक्षणको अग्रणी भूमिका देखिएको चुच्चेखेला सामुदायिक वन समूहले २०७५ सालमा सालक संरक्षणका लागि ४ नम्बर व्लकलाई समुदायद्वारा व्यवस्थापन गरेको सालक संरक्षण क्षेत्र घोषणा गरी संरक्षण अभियान गरेको थियो । यो संरक्षण क्षेत्र विश्व वन्यजन्तु कोषमा समेत दर्ता गरिएको समूहले यसअघि नै जानकारी गराएको थियो । चुच्चेखोला वन समूहले आफ्नो वन समूह क्षेत्रको रामपुरडाँडामा सालक पार्कको स्थापना गरी पर्यटन प्रवद्र्धनको काम पनि गर्दै आइरहेको छ । सालकको चोरी शिकार गर्नेलाई १ बर्षदेखि १० बर्षसम्म कैद वा ४० देखि ७५ हजार रुपैँया जरिवाना वा दुबै सजाय हुन सक्ने कानूनी व्यवस्था छ ।







