अनलाइन परीक्षा प्रणालीको वातावरण बनाउनुपर्छः शर्मा

साझाकुरा
२०७९ माघ ७, शनिबार १२:२६

हेटौंडा- बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले लोकसेवा आयोगले अनलाइन परीक्षा प्रणालीको वातावरण तयार गर्नुपर्ने बताएका छन् ।
शुक्रबार प्रदेश लोक सेवा आयोग बागमती प्रदेशको तेस्रो वार्षिकोत्सवको अवसरमा बोेल्दै प्रदेश प्रमुख शर्माले अहिलेको युगमा लोकसेवा आयोगले अनलाइन परीक्षा प्रणालीको वातावरण तयार गर्नुपर्ने बताएका हुन् ।

उनले सुशासन कायम गर्न राजनीतिक नेतृत्व र कर्मचारीलाई आग्रह पनि गरे । शर्माले प्रदेश लोक सेवा आयोगको स्थापनाको अवस्थामा कर्मचारी अभाव, स्रोत र साधनको अभावबीच काम गर्नु प्रसशंनीय रहेको बताए । उनले लोकसेवा आयोगले योग्यता, निष्पक्षता र स्वच्छतासंगै प्रतिबद्धता समेत रहेको भए अझै राम्रो हुने सुझाव दिए ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले कर्मचारीको अभावमा काम छिटो छरितो रूपमा सम्पादन गर्न नसकिएको बताए । पछिल्लो समय १४ सय २० जना कर्मचारी नियुक्त गरेपछी काममा केही सहज भएको उनले बताए । प्रदेश निजामती ऐन छिटो निर्माण गर्ने प्रक्रियामा रहेको उनको भनाइ छ । उनले सात वटा प्रदेशमा बागमती प्रदेश लोकसेवा आयोगले नेतृत्वदायी भूमिका खेलेको दाबी गरे ।

प्रदेश आफैंमा नयाँ भएको र संघीय कानूनसंग बाझिएकाले केही समस्या भएको उनले बताए । पछिल्लो समय केहि सहज भएको जम्कट्टेलले बताए । दरबन्दीभित्र अझै तीन हजार पाँचसय कर्मचारी अपूग रहेको र अब कर्मचारी भर्ना गर्न ऐन निर्माणपछि थप सहज हुने मुख्यमन्त्री जम्मकट्टेलले बताए । सुशासनयुक्त बागमती प्रदेश बनाउने अभियानमा सबैलाई सहयोग गर्न उनले आग्रह गरे ।

कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, प्रदेश लोक सेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठ, गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष लक्ष्मी देवी पाण्डे र हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*