सुस्मिता हत्या प्रकरणःससुरासहित चार जनालाई जन्मकैद सजाय

साझाकुरा
२०७९ माघ ७, शनिबार १२:३२

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–४ कर्राकी सुस्मिता केसी (थापा)को हत्या प्रकरणमा यसअघि दोषि ठहर भएका परिवारका सबै जनालाई सजाय तोकिएको छ ।जिल्ला अदालत मकवानपुरले शुक्रबार ससुरासहित चार जनालाई २५ वर्ष जन्मकैद र सासू एक जनालाई १० वर्षको कैद सजाय तोकेको हो । गत २१ पुसमा अदालतले हत्या प्रकरणका पाँच जना अभियुक्तमाथि कसुरदार ठहरको फैसला सुनाएको थियो । सुस्मिताको हत्यामा संलग्न भएको आरोपमा ससुरा, सासू, दुई नन्द र ज्वाइँलाई अदालतले कसुरदार ठहर गरेपनि सजाय भने तोकेको थिएन ।

अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेलको शुक्रबार बसेको ईजलासले ५८ वर्षीय ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जनही २५ वर्ष जन्मकैदको फैसला सुनाएको हो । ससुरा प्रकाश र कान्छी नन्द सीतालाई मुख्य अभियुक्तका रूपमा दाबी गरिएको थियो ।

कपिलवस्तुको बाणगंगा नगरपालिका माइती भएकी २२ वर्षीया सुस्मिताको हेटौँडा उपमहानगरपालिका–४, स्थित घरमा २०७७ असार १ गते राति करिब १० बजेको समयमा हत्या भएको थियो । घरको भान्सा कोठाभित्र २ असार बिहान सुस्मिता टाउकोमा चोट लागेको अवस्थामा मृत भेटिएकी थिइन् । घरको भान्सा कोठामा ससुरा प्रकाश र नन्द सीताले सुस्मितामाथि काठको लौरो र मसला पिस्ने लोहोरोले हानेर बीभत्स हत्या गरेको मकवानपुर प्रहरीको दाबी थियो ।

प्रहरीले भने जेठी नन्द दुर्गा र ज्वाइँ कार्कीलाई योजनाकारको रूपमा मुद्दा चलाएको थियो । अदालतले सुस्मिताकी सासू तुलसाकुमारी थापालाई हत्याको मतियार ठहर गरी १० वर्ष कैदको फैसला गरेको अधिवक्ता बालकृष्ण अधिकारीले जानकारी दिए । घटना हुँदा जेठी नन्द दुर्गा र ज्वाइँ कार्की काठमाडौंस्थित घरमा थिए । दुर्गालाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको थियो भने फरार रहेका कार्की पछि अदालतमा हाजिर भएका थिए ।

सुस्मिताले हेटौँडाका रुपेन्द्र थापासँग विवाह गरेकी थिइन् । रुपेन्द्रको ससुरालीबाट हेटौँडा फर्किंदै गर्दा नवलपारीको दाउन्नेमा विवाह गरेको ६ महिनापछि मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको थियो । उनको मृत्युपछि सुस्मिताकै कारण आफ्नो छोरोले ज्यान गुमाएको भन्दै घर पक्षले मानसिक तनाव दिँदै आएका थिए ।

घटना मृतक थापाको बीमा दाबी गरेपछि प्राप्त पैसाको निहुँमा भएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।पीडित पक्षका तर्फबाट जिल्ला न्यायाधिवक्ता मुकुन्दहरि पौडेल, सहन्यायाधिवक्ता राजेन्द्र पौडेल, अधिवक्ताहरू मदन दाहाल, बालकृष्ण अधिकारी, मनप्रसाद भट्टराई, अप्सरा बस्नेतलगायतले बहस गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*