६ महिना प्रहरीले उठायो १५ करोड भन्दा धेरै राजश्व

हेटौंडा- बागमती प्रदेशमा ६ महिनाको अवधिमा प्रहरीले १५ करोड भन्दा धेरै राजश्व संकलन गरेको छ । चालू आर्थिक वर्षको ६ महिनामा प्रहरीले प्रदेशको १० जिल्लाबाट १५ करोडभन्दा धेरै राजश्व संकलन गरेको हो । प्रदेशको उपत्यकाका ३ जिल्लाबाहेक १० जिल्लाबाट ६ महिनामा १५ करोड ७८ लाख ५१ हजार ४०१ रुपैयाँ राजश्व संकलन गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका अनुसार सबैभन्दा बढी ट्राफिक व्यवस्थापन तर्फबाट ११ करोड ३२ लाख ६५ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको छ ।
ट्राफिक नियम उल्लङ्घन गर्ने १ लाख २८ हजार ७५४ वटा सवारी साधनका चालकलाई कारवाहीवापत उक्त राजश्व संकलन भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले जानकारी दिए । प्रवक्ता रेग्मीका अनुसार मापसे गरेर सवारी चलाउने, निषेधित क्षेत्रमा पार्किङ गर्ने, क्षमताभन्दा बढी सामान राखेर हिँड्ने, सिटबेल्ट नबाँध्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने जस्ता सवारीका चालकहरु कारवाहीमा परेका छन् । उनले सवारी दुर्घटना न्यूनिकरण गर्न ५ हजार ५९४ वटा सवारी साधनको यान्त्रिक परीक्षण गरिएको समेत बताए ।
त्यस्तै अपराध अनुसन्धान तथा कारवाही अन्तर्गतअदालतको फैसला कार्यान्वयनको क्रममा ४ करोड ८ लाख ६१ हजार ८९९ रुपैयाँ जरिवाना संकलन भएको छ । फैसला कार्यान्वयनतर्फ ३८७ जनालाई पक्राउ उक्त जरिवाना संकलन गरेको रेग्मीले बताए । प्रवक्ता रेग्मीका अनुसार चालु आवको ६ महिनामा प्रदेश प्रहरी कार्यालय मातहतका २३ वटा प्रहरी युनिटमा २ हजार १५३ वटा मुद्दा दर्ता भएकोमा बिभिन्न अपराधमा संलग्न १ हजार ४०५ जनालाई प्रहरीले पक्राउ गरेको थियो । सो अवधीमा १८ नाल अवैध हातहतियार बरामद गरी ११ जनालाई पक्राउ समेत
गरिएको उनले बताए ।
त्यसैगरी शान्ति सुरक्षा अन्तर्गत प्राकृतिक सम्पदाको अवैध दोहन नियन्त्रण गर्ने क्रसर तथा सवारी साधन जरिवानाबाट ३७ लाख २४ हजार २ रुपैयाँ राजश्व संकलन भएको छ । चालुआवमा जिल्ला समन्वय समिति, सम्बन्धीत स्थानीय तह, जिल्ला सुरक्षा समितिसँगको समन्वयमा अवैध रुपमा संचालित १९९ वटा क्रसर उद्योग र उत्खननमा संलग्न २५३ वटा सवारी साधन नियन्त्रणमा लिएर उक्त रकम राजश्व संकलन गरिएको प्रवक्ता रेग्मीले बताए ।