ल्होछारमा बैकुण्ठमा साँस्कृतिक मेला

साझाकुरा
२०७९ माघ ९, सोमबार १०:४२

हेटौंडा-तामाङ समुदायको नयाँ वर्ष अर्थात् सोनाम ल्होछारमा कैलाश गाउँपालिकामा साँस्कृतिक मेला लागेको छ । आइतबार परेको सोनाम ल्होछारको अवसरमा मकवानपुरको कैलाश गाउँपालिकाको डाँफेमुनाल पार्क बैकुण्ठमा पर्यटन प्रबद्र्वन गर्ने उद्देश्यले ल्छोसार साँस्कृतिक मेला लागेको हो । कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले मेलाको उद्घाटन गरेका थिए । ग्रामीण पर्यटनको विकास, स्थानीय तामाङ समुदायको सँस्कृतिको जगेर्ना, भाषा, भेषभुषा र कलाको संरक्षणमा मद्दत पु¥याउने उद्देश्यले मेला आयोजना गरिएको उनले बताए । डाँफेमुनाल पार्कलाई अझ आकर्षक पर्यटकीय केन्द्रको रूपमा विकास गरिने उनले बताए ।

मेला समारोहमा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले कैलाशको पर्यटन विकासका लागि मनहरी गाउँपालिकाले सहकार्य गर्ने बताए । धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष विवेक थपलियाले कैलाशको पर्यटकीय क्षेत्रलाई मद्दत पुग्नेगरी आफ्नो पालिकामा पर्यटकीय क्षेत्र बनाउन एक करोड रूपैयाँ विनियोजन गर्ने बताए ।कैलाश गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, वडाध्यक्षहरु तेजबहादुर ब्लोन, उदासकुमार भ्लोन, सूर्यबहादुर ब्लोन, भुवनसिं घलान, देवलाल बल लगायतको उपस्थिति थियो ।

कार्यक्रम वडा नम्वर २ का अध्यक्ष राजेन्द्र घिसिङको अध्यक्षतामा भएको थियो । मेलाकै अवसरमा भाइरल पिङको उद्घाटन समेत गरिएको थियो । कैलाश गाउँपालिकाको आर्थिक सहयोगमा डाँफेमुनाल पार्कमा १५ लाख रूपैंयाको लागतमा पिङ निर्माण गरिएको थियो । साँस्कृतिक मेलामा गायिकाहरू रजनी लामा, प्रतिमा अर्याल, सुमन थापामगर, लोक गायक रामकुमार नेपाली, श्याम राना, सेलो गायक योगेश लामाले प्रस्तुति
दिएका थिए ।

यसैगरी कलाकार राजुमान रूम्बाले क्यारिकेचर प्रस्तुत गरेका थिए । मेलामा स्थानीय तामाङ समुदायको संस्कार र सँस्कृतिसँग सम्बन्धित लामा, बोम्बो, लब्तावालगायत झाँकीहरुको प्रस्तुतिसमेत गरिएको थियो । तामाङ समुदायको सबैभन्दा ठूलो साँस्कृतिक पर्व २८५९ औँ सोनाम ल्होछार २०७९ ह्योई ल्हो (बिरालो वर्ग) को अवसरमा तामाङ समुदायको बाहुल्यता रहेको बैकुण्ठमा पहिलोपटक मेला भएको हो । यसवर्ष बाघ वर्षलाई बिदाइ गर्दै बिरालो वर्षलाई स्वागत गर्दै ल्होछार मनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*