बागमतीका कृषि मन्त्रीको पहिलो निर्णयः मल ल्याउन सबै उपाय लगाउने

साझाकुरा
२०७९ माघ १२, बिहीबार ११:०२

हेटौंडा- बागमती प्रदेशको नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री नेकपा एमालेका केशव प्रसाद पोख्रेलले रासायनिक मल ल्याउन सबै उपाय लगाउने पहिलो निर्णय गरेका छन् ।बुधबार मन्त्री पदमा नियुक्त हुँदै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ लिएका पोख्रेलले पदभार ग्रहण गर्दै मलको उपलब्धता लगायतका निर्णयमा हस्ताक्षर गरेका हुन् । बागमती प्रदेशभित्रका कृषकहरुलाई सर्वसुलभ रुपमा रासायनिक मल उपलब्ध गराउन आवश्यक पर्ने सबै उपाय र विकल्प खुला राख्दै तत्काल कार्ययोजना तयार पार्ने सम्बन्धमा निर्णय गरेको मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए ।

प्रदेशलाई आवश्यक मात्रामा चाहिने रासायनिक मल आगामी ३–४ वर्षसम्म भण्डारण गर्ने क्षमता विकास गर्ने, संघीय सरकारबाट प्रदेशलाई विनियोजन हुने रासायनिक मलको कोटा बढाउन पहल गर्ने सम्बन्धमा निर्णय गरेको अधिकारीले जानकारी दिए । मन्त्री पोख्रेलले कृषि औजारको उपलब्धतालाई पनि ध्यान दिँदै उत्पादकत्व र उत्पादन बृद्धि गर्नेतर्फ विशेष पहलकदमी लिने निर्णय गरेका छन् ।

यसैगरी, प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरी आफ्नो प्रदेशलाई आवश्यक मलको परिमाणसहित खरिदको टेन्डरको लागि आग्रह गर्ने, प्रदेशलाई विनियोजन भएको रासायनिक मलको कोटाबमोजिम कृषकले सहज तरीकावाट प्राप्त गर्ने वातावरण मिलाउने तथा दीर्घकालीनरुपमा रासायनिक मलको समस्या समाधान गर्न प्रदेशमा नै मल उत्पादन गर्ने कार्य गर्न पहल गर्ने र कृषि औजार कारखाना स्थापना गरी कृषकलाई सर्वसुलभ रुपमा कृषि औजार वितरण गर्न मन्त्रालयले आवश्यक कार्य गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*