शंख फुकेर पूजा गर्दै आधुनिकका हेडमाष्टरले सम्हाले जिम्मेवारी
हेटौंडा- सामुदायिक विद्यालयमध्ये जिल्लाकै उत्कृष्टभित्र पर्ने आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा प्रधानाध्यापक (हेडमाष्टर) र सहायक प्रधानाध्यापकहरुको पदस्थापन भएको छ ।सरस्वती पूजाको साइत पारेर बिहीवार विद्यालयका प्रअ रामसागर गुरागाई, सहायक प्रअहरु मालती पोखरेल, दिपक अधिकारी र राजेन्द्र ठकुरीले पदभार ग्रहण गरेका हुन् । प्रअ र सहायक प्रअहरुले पदभार ग्रहण गर्दा रोचक घटना घटेको छ ।
सामान्यतयः प्रधानाध्यापकमा नियुक्त भएपछि विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक र कर्मचारीहरुबीचको औपचारिक कार्यक्रमबाट जिम्मेवारी सम्हालेको देखिँदै आएको हो । तर, बिहीवार आधुनिकका हेडमाष्टरदेखि सहायक हेडमाष्टरहरुले पण्डित बोलाएर कार्यकक्षमै मंगल स्तोत्र वाचन (शुभकार्यमा गरिने धार्मिक पूजा) गरेर पदभार ग्रहण गरेका छन् ।
सार्वजनिक भिडियोमा हेडमाष्टरको कुर्सीमा गुरागाई बसेपछि पण्डितले मंगल स्तोत्र वाचन गरेका थिए । सम्भवतः जिल्लाका सामुदायिक विद्यालयमा पदभार ग्रहण गर्दा मंगल स्तोत्रको पूजा गरिएको यो नौलो घटना हो । प्रअ गुरागाईको पदभार ग्रहणको बेलामा एक व्यक्तिले घण्टी बजाउने र अर्काले शंख फुकिरहेका थिए भने पण्डितले मंगल स्तोत्र वाचन गरिरहेका देखिन्थे । सामुदायिक विद्यालयमा १५ वर्ष जिम्मेवारी सम्हालेका एक प्रधानाध्यापकले यो घटना नौलो लागेको बताए ।
‘विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर प्रअ भइयो । शिक्षा कार्यालयबाट नियुक्ती लिइयो । विद्यालयमा गएर खुरुखुरु व्यवस्थापनसँगै पढाउन थालियो । यतातिर थाहै भएन ।,’ उनले भने ।बिहीवार सरस्वती पूजाकै दिन भएकाले पदभार ग्रहण गर्ने स्वतः साइतमै पण्डित लगाएर मंगल स्तोत्र गर्नुपर्ने आवश्यकता नरहेको ती प्रधानाध्यापक बताउँछन् । ‘पहिलो कुरा विद्यालयको पठन पाठनलाई कसरी गुणस्तर बनाउने भनेर एउटा प्रधानाध्यापकमा शिक्षण क्षमता हुनुपर्छ ।
पण्डित लगाएर साइत जुराउँदै कुर्सीमा बसेर विद्यालय राम्रो हुने हैन् । यसो गर्नै हुँदैन भन्ने हैन, विद्यालयमा त्यो आवश्यक थिएन्,’ ती प्रधानाध्यकपकले सुनाए । यस सम्बन्धमा जानकारी लिन खोज्दा आधुनिकका प्रअ गुरागाईंसँग सम्पर्क हुन सकेन् ।पदभार ग्रहण तथा सरस्वती पूजा कार्यक्रममा हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष चित्तबहादुर विक (जंगबहादुर), सदस्य समिम खानलगायतको उपस्थिति थियो ।







