सिमभन्ज्याङमा सात वटा ताल निर्माणाधीन

साझाकुरा
२०७९ माघ १४, शनिबार ०९:४७

हेटौंडा- जिल्लाको प्रमुख पर्यटकीय स्थलका रुपमा परिचित थाहा नगरपालिकाको सिमभञ्ज्याङमा सात वटा ताल निर्माण हुने भएका छन् ।
ताल निर्माण भएसँगै थाहा नगरपालिकाको पर्यटन विकासले गति लिने विश्वास गरिएको छ । यसअघि हेटौंडाबाट करिब २ घण्टाको मोटरसाइकल यात्रामा पुग्न सकिने थाहा नगरमा घुम्न लायक दजर्नौ क्षेत्रहरु निर्माण भएका थिए । थाहाको धार्मिक पर्यटन, पैदल यात्रा चर्चित छ । तरकारी खेतीका लागि प्रख्यात क्षेत्र थाहा नगरमा रहेको एउटा तारेभिरडाँडाबाट भने तराईदेखि पहाडसम्मका भूभाग अवलोक गर्न सकिन्छ ।

‘तारेभिर’ अर्को पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । यससँगै थाहाको समुन्द्री सतहबाट सबैभन्दा माथि अर्थात २८ हजार मिटरको क्षेत्रमा बाक्लो बसोबास रहेको सिमभञ्ज्याङ चर्चित छ ।सिमभञ्ज्याङमा हरेक वर्ष हिमपात हुने गरेको छ । हिउँले ढाकिएका सेताम्मे डाँडाकाँडा हेर्न आन्तरिक पर्यटकहरुको यहाँ घुइचो नै लाग्ने गर्छ । सिमभञ्ज्याङको हिमपातलगायतका थुप्रै विशेषतामा थप एउटा ताल पनि थपिने भएको छ । बागमती प्रदेश सरकारको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मकवानपुरमार्फत मकवानपुरको सिमभन्ज्याङमा सातवटा ताल निर्माणाधीन रहेका छन् ।

प्रदेश सरकारको ७२ लाख ६९ हजार रुपैयाँ लागतमा पहिलो चरणमा एउटा ताल निर्माण हुनेछ । थाहा नगरपालिका–४ स्थित सिमभन्ज्याङमा निर्माण हुने तालको तल्लो आधार हात्तिपाइले निर्माण लगायतका काम सम्पन्न भएको छ ।स्थानीय करुणाभूमि सामुदायिक वनको पहलमा वातावरणमैत्री र पर्यटक आकर्षित गर्ने उद्देश्यले ताल निर्माण प्रयास सुरु भएको हो । सामुदायिक वन समितिका अध्यक्ष विनोद लामाले १० वर्ष अघिबाट गरिएको प्रयास र पहलले सार्थकता पाउन लागेको बताउँदै पहिले तारजाली र ढुंगामाटोको बाँध निर्माण गर्दा स्थायी नभएका कारण पक्की पर्खाल निर्माण गर्न लागेको बताए ।

थाहा नगरपालिकाको ३ लाख र स्थानीय विकास मन्त्रालयबाट आएको साढे ७ लाख रुपैयाँबाट छड र सिमेन्ट प्रयोग नगरी वातावरण र पर्यावरणमैत्री निर्माण गरेको संरचना वर्षाले क्षति पु–याएको बताउँदै पानीको मूल निर्माणाधीन तालसँगै रहेकाले पानी अभाव नहुने लामाले बताए ।
ताल त्रिभुवन राजपाथसँगै बन्न लागेको हो । पानी जम्मागरी ताल बनाउन प्रस्तावित तालमा हात्तिपाइलेबाहेकको तीन मिटर उचाइको बाँध निर्माण गरिनेछ । पक्की बाँध निर्माणपछि करिब सय मिटर लम्बाइभन्दा बढी क्षेत्रफलको तालमा पानी संकलन हुनेछ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मकवानपुरका अनुसार निर्माणाधीन तालको माथि थप पाँचवटा र तल एउटा ताल बनाउने योजना रहेको छ ।

डिभिजन कार्यालयका सबइन्जिनियर रञ्जित श्रेष्ठले योजनाको करिब ६५ प्रतिशत काम सकिएको जानकारी दिँदै सिमभन्ज्याङ क्षेत्रमा हाल अधिक चिसोका कारण निर्माण रोकिएको बताए ।‘तालमा हालेका असला माछाको उत्पादन राम्रो भएको छ, ताल निर्माणपछि बोटिङ र फिसिङको योजना छ’ लामाले भने–‘सात ताल निर्माणपछि यस क्षेत्रमा पर्यटकको बसाइसमेत लम्बिने विश्वास छ ।,’ दामन–पालुङ क्षेत्रमा पछिल्लो समय पर्यटक आउनेक्रम घटेको बताउँदै ताल निर्माण सम्पन्न भएपछि पर्यटकीय गन्तव्य बन्ने अध्यक्ष लामाले बताए ।

ताल निर्माणसँगै ताल दायाँबायाँ पैदल मार्ग निर्माण, आश्रय स्थल र सौन्दर्यीकरण गरिने योजनासमेत रहेको छ । थाहा नगरपालिका नजिकै मानवनिर्मित इन्द्रसरोबर ताल पनि रहेको छ । ठूलो क्षेत्रफलमा फैलिएको इन्द्रसरोबर तालले इन्द्रसरोबर गाउँपालिकासँगै थाहा नगरपालिकाको पर्यटन विकासमा पनि महत्वपूर्ण भूमिका खेलेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*