पशुपतिनाथका अनुशासित विद्यार्थी पुरस्कृत
हेटौंडा- जिल्लाको पश्चिमी क्षेत्रस्थितमनहरी गाउँपालिकामा रहेको पशुपतिनाथ माविमा अध्ययनरत् अनुशासित विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ ।पशुपतिनाथ माविमा अध्ययनरत दुई जना विद्यार्थीलाई कक्षा कोठा वा विद्यालय परिसरमा अनुशासन कायम गरेको भन्दै पुरस्कार प्रदान गरिएको हो । एक छात्र र एक छात्रालाई पुरस्कार दिइएको विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले जानकारीदिए । कक्षा ९ की छात्रा सुष्मा कार्की र कक्षा ८ का छात्र सन्दीप प्रजा विद्यालयका अनुशासित विद्यार्थी भएका हुन् ।
मनहरी गाउँपालिकाको कार्यपालिका सदस्य मिरा खत्री, मनहरी–४ का पूर्ववडाध्यक्ष ध्रुव खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमले विद्यार्थीलाई नगदसहित सम्मान पत्र प्रदान गरेका थिए । विद्यालयमा अध्यापन गर्ने शिक्षक चेतप्रसाद पौडेलले आफ्नो माता जसोदादेवी पौडेल र पिता लालप्रसाद पौडेको स्मृतिमा स्थापना गरेको अनुशासित विद्यार्थी सम्मान प्रदान गरिएको हो । शिक्षक पौडेलले सेवानिवृत्त जीवनमा आफूले अध्यापन गरेको विद्यालयलाई सहयोग गर्ने क्रममा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरी पुरस्कार स्थापना गरेका हुन् ।
५० हजार रुपैयाँको वार्षिक व्याज आम्दानीबाट दुई जना छात्रछात्रालाई नगद तथा प्रशंसापत्र प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक आचार्यले बताए ।







