हेटौंडामा शिक्षक दौड र स्लो स्कुटी रेस प्रतियोगिता हुने

साझाकुरा
२०७९ माघ १५, आईतवार १०:४८

हेटौंडा- हेटौंडामा जिल्लास्तरीय पुरूष शिक्षक दौड र महिला शिक्षक स्लो स्कुटी रेस प्रतियोगिता हुने भएको छ ।हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ कार्यालयको आयोजना तथा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको व्यवस्थापनमा सहिद दिवसका अवसरमा माघ १६ गते हेटौंडामा प्रतियोगिता हुने भएको हो ।

शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै हेटौंडा–४ का वडाध्यक्ष नविन सिग्देलले खेलकुदलाई प्राथमिकता दिदै वडा कार्यालयले प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए । सीमित आर्थिक स्रोत हुँदा पनि धेरै काम गरेको उनको भनाई छ । उनले स्नोकरलगायतका नयाँ खेलकुद गतिविधिलाई बढाउन वडा कार्यालयले सहयोग गरेको उनको भनाई छ ।

खेलाडीलाई सहयोग गर्दै आईरहको भन्दै आगामी बजेटमा भौतिक पुर्वाधारमा छुट्याएको बजेट बराबर शिक्षा र खेलकुदमा पनि विनियोजन गरिने सिग्देल बताउँछन् । शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहालले माघ १५ गतेभित्र प्रतियोगितामा सहभागी जनाउनेले नाम दर्ता
गरिसक्नुपर्ने बताए । ४ नम्वर वडा कार्यालयबाट दौड सुरू भएर पारिजातपथ हुँदै कान्तिराजपथबाट भैरवरोड पुगेर पुनः वडा कार्यालयमा आईपुग्ने जनाईएको छ । दौड ३ किलोमिटरको हुनेछ ।

प्रतियोगितामा प्रथमलाई ७ हजार, दोस्रोलाई ५ हजार, तेस्रोलाई ३ हजार र चौथो हुनेलाई १ हजार रूपैयाँ पुरस्कार रहेको आयोजकले जनाएको छ । यसैगरी स्लो स्कुटीमा प्रथम हुनेलाई ७ हजार, दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुनेलाई ३ हजार पुरस्कार रहनेछ । दौडमा १ सय ५० जाना शिक्षक र स्लो स्कुटीमा करिब ७० जना सहभागी हुने अपेक्षा गरिएको छ । संस्थागत र सामुदायिक विद्यालयका शिक्षकहरूले सहभागी हुन सक्ने जनाईएको छ ।

पुर्वशिक्षकहरूले पनि दौडमा सहभागी हुन सक्ने अध्यक्ष दाहालले जानकारी दिए । एथ्लेटिक्स संघका केन्द्रीय सदस्य प्रभाकर पाण्डेले प्रतियोगितामा प्राविधिक सहयोग रहने प्रतिबद्वता जनाए । एथ्लेटिक्स खेलको विकासमा वडा कार्यालयले खेलेको भूमिकाको उनले प्रशंसा गरे ।खेलकुदमा राजनीतिक पूर्वाग्रह नराखी सबै जना सहभागी हुनुपर्ने धारणा राखे ।

जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गीले खेलकुद गतिविधि बढाउन सबै निकायले सहयोग गरेकोमा खुशी व्यक्त गरे । समितिसँग पर्याप्त आर्थिक स्रोत नभएकाले खेलकुद प्रतियोगिताहरू गर्न नसकिएको जानकारी दिए । समितिले नै गर्न नसकेको खेलकुल गतिविधिहरू वडा कार्यालयले गर्न लागेको भन्दै वडा अध्यक्ष सिग्देलको प्रशंसा गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*