निर्माण व्यवसायीको अध्यक्षमा कंडेलको उम्मेदवारी

साझाकुरा
२०७९ माघ १६, सोमबार ०९:४१

हेटौंडा- निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षमा बालगोपाल कंडेलले उम्मेदवारी घोषणा गरेका छन् । आईतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै कंडेलले संघको आगामी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । संघको यही माघ २८ र २९ गते हुन लागेको २३ औं साधारणसभा तथा ११ औं अधिवेशन हुँदैछ । वर्तमान कार्यसमितिको प्रथम उपाध्यक्ष समेत रहेका उनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे । ‘निर्माण व्यवसायीको क्षेत्रमा रहेको समस्या बारे म अवगत नै छु ।

अहिले देशव्यापी रुपमा रहेको आर्थिक मन्दीबाट हाम्रो पेशा पनि अछुतोरहेको छैन’, उनले भने, ‘ निर्माणको क्रममा राज्यबाट हुने असहयोग, कच्चा पदार्थको अभाव, निर्माण सामग्रीको बढ्दो मूल्यवृद्धिकोमारमा हामी सधैं परिरहेका छौं । लामो समयदेखि निर्माण व्यवसायमै आबद्ध रहँदै आएकोले मैले यस क्षेत्रको समस्या र सम्भावनालाई नजिकबाट बुझेको छु । निर्माण व्यवसाय क्षेत्रको समस्या समाधान गर्दै यस पेशालाई थप मर्यादित र जिम्मेवार बनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’ कंडेलले निर्माण व्यवसायीको हितमा कार्य गर्ने, संस्थाको गरिमालाई उच्च पार्ने र संस्थागत एवम व्यवसायिक हितमा काम गर्ने उद्घोष गरेका छन् ।

२०५२ सालदेखि निर्माण व्यवसाय क्षेत्रमा संलग्न रहेका उनी २०५८ सालमा निर्माण व्यवसायी संघको कार्यसमिति सदस्य भएका थिए । कंडेलले हालसम्म तृतीय, द्वितीय र प्रथम उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् । संघको अधिवेशनले आगामी तीन वर्षीय कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । सहयोगका लागि निर्माण व्यवसायीमा अपिल समेत गरेका छन् । उनी मेरिना कन्स्ट्रक्सन कम्पनी प्रालिका अध्यक्ष हुन् । उनले सहमतिमा नेतृत्व चयन हुने सम्भावनाका कारण प्यानल घोषणा नगरिएको र सहमति नभएको खण्डमा चुनावमा जान आफू तयार रहेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*