माया वनः श्रेष्ठ संगीत अन्र्तराष्ट्रिय पुरस्कार प्रधानलाई
हेटौंडा- यसवर्षको विजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कारबाट वरिष्ठ गायक, संगितकार, लेखक तथा निर्देशक डा. किरण प्रधान सम्मानित भएका छन् । भीम विराग संगीत, साहित्य कला प्रतिष्ठान मकवानपुरले प्रत्येक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कारबाट डा. प्रधानलाई सम्मानित गरेको हो । आईतबार आयोजित कार्यक्रममा एक लाख पुरस्कार राशि रहेको उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि सहित्यकार तुल्सी थापाले डा. प्रधानलाई प्रदान गरेका हुन् ।
प्रतिष्ठानले २०६४ सालमा स्थापना गरेको विजुली माया वनः श्रेष्ठ संगित राष्ट्रिय पुरस्कारा भीम विरागको स्मृति दिवसको अवसर पारेर प्रदान गरेको छ । पुरस्कार हेटौंडाका कुशल व्यवसायी, संगितप्रेमी, समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नामबाट स्थापना गरेका थिए । प्रतिष्ठानका अध्यक्ष ह्यग्रिव आचार्यको अध्यक्षतामा भएको पुरस्कार समर्पण कार्यक्रममा डा. प्रधानले आफुले स्वर दिएका गितहरु समेत गायर सुनाएका थिए । उनलाई मकवानपुरे गायीका सुनिता बुर्लाकोटीले साथ दिएकी थिइन् ।
यस अघि बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कारबाट अम्बर गुरुङ (२०६४), प्रेमध्वज प्रधान (२०६५), भक्तराज आचार्य (२०६६), फत्तेमान राजभण्डारी (२०६७), शान्ति ठटाल (२०६८), प्रकाश श्रेष्ठ (२०६९), दीप श्रेष्ठ (२०७०), न्हुच्छे बहादुर डंगोल (२०७१), मीरा राणा (२०७२), कर्म योञ्जन (२०७३), चेतन कार्की (२०७४) दावा ग्याल्मो (२०७७) र दीपक जङ्गम (२०७८) पुरस्कृत भइसकेका छन् ।
वरिष्ठ कलासाधक कवि एवं गीतकार भीम विरागको व्यक्तित्वप्रति सम्मान स्वरुप भाषा साहित्य र कला क्षेत्रको संरक्षण एवं संवर्धन गर्ने उद्देश्यले २०५९ सालमा स्थापना भएको प्रतिष्ठानले साहित्य संगीत साँस्कृतिक र कला क्षेत्रमा योगदान पु¥याउने विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई विभिन्न १२ वटा पुरस्कार प्रदान गर्दै आएको प्रतिष्ठानका अध्यक्ष ह्यग्रिव आचार्यले जानकारी दिए ।







