१२ लाख ६९ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाइँदै

साझाकुरा
२०७९ माघ २०, शुक्रबार ११:१९

हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेशभित्रका १२ लाख ६९ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाउने भएको छ ।हरेक वर्ष अभिायन नै सञ्चालन गरेर प्रदेश सरकारले भेडाबाख्रालाई पीपीआर खोप लगाउने गरेको छ । यसवर्ष पनि सोही अभियानलाई निरन्तरता
दिँदै प्रदेश सरकारले प्रदेशभित्रका १२ लाख ६९ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाउने भएको हो ।

सरकारले यहि फागुन १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गरी भेडाबाख्रालाई पीपीआर रोगविरुद्ध खोप लगाउन लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए ।मन्त्रालयका अनुसार बागमती प्रदेशमा २५ लाख २० हजार छसय ७१ बाख्रा र ९२ हजार पाँचसय ६१ भेडा गरी २६ लाख १३ हजार दुईसय ३२ भेडाबाख्रा छन् । जसमध्ये यो वर्ष १२ लाख ६९ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाउन लागिएको हो ।

गएको वर्ष मन्त्रालयले यहि अभियानअन्तर्गत् आठ लाख २१ हजार चासय ८९ बाख्रा र ८ हजार छसय ९८ भेडालाई पीपीआर खोप लगाएको थियो ।‘पीपीआर भेडा बाख्रामा विषाणुबाट लाग्ने घातक संक्रामक रोग हो । यसलाई भेडा बाख्राको हैजा पनि भनिन्छ’, अधिकारीले भने, ‘नेपालमा पीपीआर रोगका कारण वर्षेनि धेरै संख्यामा भेडाबाख्रा मरेर कृषकहरुले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको छ । यस्तो अवस्था आउन नदिनका लागि मन्त्रालयले खोप अभियान सञ्चालनमा ल्याएको हो ।’

अफ्रिकी देशबाट सुरु भएको यो रोग नेपालमा पनि सबैजसो जिल्लामा देखापरेको अधिकारीले बताए । यो रोगको खास उपचार नभएकोले यसको नियन्त्रणको लागि सामूहिक खोप अभियान नै प्रभावकारी पद्धति भएको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*