एक दिनमै ७ हजार दर्शकले अवलोकन गरे महोत्सव

साझाकुरा
२०७९ माघ २०, शुक्रबार ११:२२

हेटौंडा- हेटौंडामा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा विहीवार एकै दिन ७ हजार जना दर्शकले अवलोकन गरेका छन् ।
महोत्सवमा बुधवारभन्दा बिहीवार धेरै दर्शक आएको आयोजक मकवानपुर उद्योग वाणिज्य संघले जानकारी दिएको छ । बुधवार महोत्सवमा करिब ५ हजार दर्शकले अवलोकन गरेका थिए । महोत्सव अन्तिमतर्फ जाँदा दर्शकहरुको संख्यामा पनि वृद्धि भइरहेको संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालले जानकारी दिए । महोत्सव २३ माघसम्म सञ्चालन हुनेछ । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा उपमहानगरपालिका–१०, स्थित भुटनदेवी पार्कमा महोत्सव भइरहेको हो ।

विहीबार महोत्सवमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा सहायक प्रजिअ नेत्र शर्मा, बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे, मकवानपुरका प्रहरी प्रमुख बामदेव गौतम, सशस्त्रका प्रहरी निरीक्षक अनिल कार्की, अनुसन्धानका उपनिर्देशक पप्पुशर्मा पौडेल, पशुपन्छी निर्देशनालयका निर्देशक डा. बज्रकिशोर ठाकुर, प्रदेश दुग्ध विकास बोर्डका कार्यकारी उपाध्यक्ष टीकाबल्लभ सापकोटालगायतको आतिथ्यता थियो ।

महोत्सवमा बिहीवार करिब २० लाखको कारोबार भएको छ । महोत्सवमा रहेका तीनसयभन्दा बढी स्टलहरुमा जुम्लाको मार्सी चामल, केराको परिकार, मकवानपुरगढीको रैथाने बाली कोदोको पिठोबाट कोदोको विष्कुट, निमकिन, पोखराको खुवा, हिमाली भीरमौरीको मह, भोजपुरे खुकुरी, प्राचीन हस्तकलाको झ्याल र ढोका, ल्यापटप एवम् मोबाइलको फ्रि सर्भिसिङ, मोडुलर किचेन, टाटा, सीजीका विभिन्न किसिमका इलेक्ट्रिक गाडीहरु, बालबालिकाको लागि फन पार्क, घरायसी समान लगायतको बिक्री वितरण भइरहेको संघका महासचिव दीपक उप्रेतीले बताए ।
यसैगरी, बिहीवार महोत्सवमा गायक हेमन्त शर्मा र कृष्ण काफ्लेले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए ।

चर्चित गायिका प्रिती आले सांगीतिक माहोल तताएकी छन् । उनले व्याटल गीत गाउँदै सबै दर्शकलाई नचाएकी थिइन् । गायिका आलेले तिमी जस्तो तिग्रे कति बिग्रेबिग्रे…, चौतारीका वरपिपल छायाँ…, बाबरी बाबरी…, न सम्पति न मेरो जीउडाल के को माया जाल… लगायत लोकभाका र झ्याउरे भाकाका गीतहरु प्रस्तुत गरेकी थिइन् । महोत्सवमा मोडल करिश्मा ढकालले नृत्य प्रस्तुतगरेकी थिइन् भने कमेडियन शिवहरि नेपाल र अस्मिताले हास्यव्यंग्य प्रहशनमार्फत् दर्शकहरुलाई हसाएका थिए ।

महोत्सवको आज शुक्रबार दशौं दिन रहेको छ । आज चर्चित सांगीतिक ब्याण्ड कर्मा ब्याण्डको प्रस्तुति रहनुका साथै गायक मानसराज र ऋतु कंडेलले मनोरञ्जन प्रदान गर्ने तय भएको महोत्सवका कलाकार मनोञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले जानकारी दिए । महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् । हेटौंडा आइडलको आफ्ना मनपर्ने प्रतिस्पर्धीलाई एसएमएस र टिकटको अर्धकट्टीबाट भोट हाल्न सकिने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यसैगरी, महोत्सवमा आएका दर्शकहरु निःशुल्क स्वास्थ्य शिविरमा सहभागीसमेत भएका छन् । बिहीबार हेटौंडा मेडिसिन सेन्टरका चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गरिएको थियो । आज शुक्रबार हेटौंडा उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाबाट निःशुल्क स्वास्थ्य परीक्षण हुने संघले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*