खुला कविता प्रतियोगितामा चौलागाईं प्रथम

साझाकुरा
२०७९ माघ २०, शुक्रबार ११:२७

हेटौंडा-बाल अधिकार विषयक खुला कविता प्रतियोगितामा हेटौंडा स्कूल अफ म्यानेजमेण्टकी रोशनी चौलागाईं प्रथम भएकी छन् ।
रेडियो मकवानपुरको १३ औं वार्षिकोत्सव तथा सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५ औं स्थापना दिवसको अवसरमा जारी सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् विहीबार कविता प्रतियोगिता भएको थियो । प्रतियोगितामा हेटौंडा स्कूल अफ म्यानेजमेण्टकी चौलागाईं प्रथम भएकी हुन् ।

दशजोड दुईसम्मका विद्यार्थी सहभागी प्रतियोगितामा जीएस निकेतनका समर्पण न्यौपाने द्वितीय र बालजागृति इङ्लिस सेकेण्डरी स्कूलका कृषाङ्गी अर्याल तृत्तीय भएका छन् । प्रतियोगितामा मकवानपुरको विभिन्न विद्यालयका २२ जना विद्यार्थी सहभागी थिए । प्रथम, द्वितीय र तृत्तीय भएकाहरुले क्रमशः नगद १० हजार, ७ हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्ने छन् । उनीहरुलाई सप्ताहव्यापी कार्यक्रमको समापनको अवसरमा यही माघ २२ गते पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्य, नेपाली लेखक सङ्घ मकवानपुर अध्यक्ष छवि अनित्य र साहित्य संगम मकवानपुर अध्यक्ष अनिता न्यौपानेले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कविता प्रतियोगितामा ४ जनाले अप्रतियोगीको रुपमा आफ्नो कविता प्रस्तुत गरेका थिए । रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा अध्यक्ष एवम् उपमहानगरका प्रवक्ता सविन न्यौपानेको प्रमुख आतिथ्यता थियो ।

रेडियो मकवानपुरले सामुदायिक रेडियोको भूमिका निर्वाह गरिरहेको भन्दै उनले आगामी दिनमा गाउँ समाजको आवाजलाई बुलन्द गर्दै अघि बढ्न अनुरोध गरे । बालजागृति स्कूलका सहायक प्रधानाध्यापक अमोल श्रेष्ठले बालबालिकाको प्रतिभा प्रस्फुटन कार्यक्रममा सहकार्य गर्न पाएको भन्दै खुसी व्यक्त गरे । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा सदस्य मनु दाहाल, रेडियो मकवानपुरका प्रबन्ध निर्देशक आशिष दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*