पत्रकारको सुरक्षाका लागि सरकारले ५० लाख दिन्छः मुख्यमन्त्री
हेटौंडा- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले पत्रकारको सामाजिकसुरक्षाका लागि ५० लाख रूपैयाँ दिने घोषणा गरेका छन् । जम्कट्टेलले शुक्रबार नेपाल पत्रकार महासंघ बागमती प्रदेशको साधारणसभालाई दोलखामा सम्बोधन गर्दै पत्रकारको सामाजिक सुरक्षाको लागि प्रदेश सरकारले ५० लाख रूपैयाँ दिने घोषणा गरेका हुन् । श्रमजीवी पत्रकारको हकहित र सुरक्षाको लागि सरकारले ५० लाख रूपैयाँ बजेट विनियोजन गर्ने मुख्यमन्त्री जम्कट्टेलले बताए ।
उनले भने– ‘श्रमजीवी पत्रकारहरुको सुरक्षाका लागि प्रदेश सरकार संवेदनशील छ । त्यसैले श्रमजीवी पत्रकारको सामाजिक सुरक्षा कोषको लागि प्रदेश सरकारले ५० लाख रूपैयाँ दिने घोषणा गर्छु ।’जम्मकट्टेलले मिडिया र संचार जगत समाजको ऐना भएको बताए । साधारणसभाको उद्घाटनलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्मकट्टेलले मिडिया र संचार जगत ऐना भएको र यसले समाजमा देखिएका सकारात्मक र नकारात्मक ऐना जस्तै छर्ल· पार्न सक्ने बताए ।
मुख्यमन्त्री जम्कट्टेलले देशमा आमूल परिवर्तन र संघीयता बलियो बनाउन संचार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको भन्दै आफू बागमती प्रदेशको प्रथम सरकार गठन भएर कानुन मन्त्री रहँदा सञ्चार रजिष्ट्रार कार्यालय स्थापना गरी पत्रकार र पत्रकारिताको हक हितका लागि आवश्यक कदम चालेको सुनाए ।
उनले नेपालको स्विट्जरल्यान्ड मानिने जिरीको समग्र विकासका लागि स्थानीय सरकारसहितलाई सहयोग हुने गरी आवश्यक बजेट समन्वय गर्नेसमेत उद्घोष गरेका छन् । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको तेस्रो साधारणसभा दोलखाको जिरीमा शुक्रबार सुरु भएको छ ।







