चरणबद्ध आन्दोलन गर्ने चेतावनी

ठेकेदारले काम नगरेपछि लालझाडीबासीको सपना अलपत्र
साझाकुरा
२०७९ माघ २२, आईतवार १६:२०

हेटौंडा- वर्षौदेखि ज्यान जेखिममा पारेर राप्तिखोला ओहोरदोहोर गर्न बाध्य हेटौंडा उपमहानगरपालिका १ नम्बर वडास्थित लालझाडीबासीको सपना अलपत्र परेको छ । हेटौंडा–१, स्थित लालझाडी र चौकीटोल जोड्ने पुल २ वर्षदेखि अलपत्र परेको हो । पुल निर्माणको सम्झौता गरेको निर्माण कम्पनीले हालसम्म एउटा खाल्डोमात्रै खनेको हो । ठेकेदार फरार भएर पुल निर्माणको काम नै हुन नसकेको भन्दै शनिबार लालझाडीबासीले पत्रकार सम्मेलन गरेर आन्दोलनको चेतावनी दिएका छन् । सरकारले निर्माण कम्पनीलाई पुल निर्माण छिटो गर्न नलगाए चरणबद्ध आन्दोलन गर्ने स्थानीयले चेतावनी दिएका छन् । लालझाडीबासीको दबाब कार्यक्रममा हेटौंडा १ का वडा अध्यक्ष सविन न्यौपानेले साथ दिएका छन् । अघिल्लो कार्यकालमा वडा अध्यक्ष हुँदा आफ्नो पहलमा पुल निर्माणका लागि बजेट पारेको उनले दोस्रो कार्यकालसम्म पनि पुलको पिल्लर ठडिएको देख्न पाएनन् । वडाध्यक्ष न्यौपानेले ठेकेदारको लापबारही सहेर नबस्ने चेतावनी दिए ।

हेटौंडा उपमहानगरपालिकाको मुटुमै रहेको पुल निर्माण हुने भएपछि यसअघिको तुइनसमेत हटाइएको थियो । उक्त तुइनबाट ज्यान जोखिममा राखेर लालझाडी बासीले कृषि उपजसँगै उत्पादित दूध बिक्रीका लागि चौकीटोल र सामरी पुलसम्म ल्याउने गरेका थिए । पुल बन्ने भएपछि तुइन पनि हटाइएपछि वर्षात्को समयमा स्थानीयले धेरै समस्या पाउने गरेका छन् । लालझाडी र चौकीटोल जोड्ने पक्की पुल निर्माणका लागि बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत्को भौतिक पूर्वाधार विकास कार्यालय, भरतपुर चितवनले निर्माण व्यवसायी शिवशक्ति–सिद्धार्थ–शिवम् जेभी मकवानपुरसँग ठेक्का सम्झौता गरेको थियो ।

पक्की पुल निर्माण गर्न २ वर्षअघि दिइएको ठेक्का अन्तर्गत् हालसम्म एउटा खाल्डो खन्नु बाहेक काम भएको छैन । २०८० जेठ १७ मा कार्य सम्पन्न गर्ने गरी २०७८ जेठ १८ गते भएको सम्झौता अनुसार काम नहुँदा स्थानीयहरु मारमा परेका छन् । पुल निर्माणका लागि ८ करोड ४७ लाखमा सम्झौता भएको थियो । ठेकेदार कम्पनीले सम्झौताअनुसारको झण्डै ४० लाख बजेट बुझिसकेको छ
तर, काम अघि बढ्न नसकेको जनाइएको छ । २० महिना बितिसक्दा हालसम्म कामको सुरुवातको नाममा एउटा खाल्डो खनिएको छ । पुल निर्माण हुने भएपछि स्थानीयहरुले छोड्नु पर्ने जमिन छाडिसकेका छन् ।

वडा अध्यक्ष न्यौपानेले पुल निर्माणका लागि विगतका समस्याहरु सबै समाधान भइसक्दा पनि निर्माण कम्पनीले काम नगरेको बताए । पुल बन्ने भएपछि सबै स्थानीयहरुले सहज वातावरणमा घर सारेको, रोजीरोटी चल्दै आएका पानीघट्ट झिकेको, बाटो बिस्तार गर्न बिनामुअब्जा जग्गा छाडिदिएको भएपनि ठेकेदारकै लापरबाहीले जनताले दुःख पाएको न्यौपाने बताउँछन् । यसअघि उनै वडाध्यक्ष न्यौपानेले निर्माण कम्पनीलाई पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, निवर्तमान उपमहानगर प्रमुख हरिबहादुर महत र भौतिक पूर्वाधार मन्त्री र सचिवहरुको रोहवरमा निर्माण छिटो सक्न लिखित सहमति गराएको बताए । ठेकेदारले जनतालाई दुःख दिने मनसायले झुटो सहमतिमात्रै गरेको र अब काम नभए जनता आन्दोलनमा उर्लिने न्यौपानेले चेतावनी दिए ।

ठेकेदारकै लापरबाहीका कारण सडकमा जाने र उनीहरुलाई सडकमै बोलाउने बाहेकको काम बाँकी नभएको न्यौपानेले बताए । स्थानीय संघर्ष समिति अध्यक्ष विनोद पौडेलले खोलामा जोखिमपूर्ण काठको पुल रहेको र कुनैपनि समय बालबालिका घटनामा पर्न सक्नेतर्फ सचेत गराए । कानुनतः सम्झौता गरेर जिम्मेवारी दिएको कार्यसमेत नगरी नेपाल सरकारको कानुनलाई समेत मिचिएको मनोमानी ढंगले कामप्रति हेलचेक्र्याइँ गरेको पौडेलले बताए । पुल निर्माण अलपत्र भएका कारण लालझाडी, मैनाटार, नकौली, लामीडाँडा बाँझोडाँडा र घ्याङसिङटार क्षेत्र सडक सञ्जाल राजमार्गसँग नजोडिँदा स्थानीयवासीहरु आजित भएको टोल विकास संस्थाका अध्यक्ष रामप्रसाद तिमल्सिनाले बताए ।

उक्त पुल बन्दा ३० हजारभन्दा बढी जनताहरु प्रत्यक्ष लाभ लिन सक्ने जनाइएको छ । यसक्षेत्रमा उत्पादन भएको कृषि उपज बजार ल्याउन पुल अभावकै कारण समस्या भएको वडा अध्यक्ष न्यौपानेले बताए । आफूहरुले पटक पटक ठेकदार कम्पनीलाई झक्झक्याउँदा २ पटकसम्म काम गर्ने लिखित सहमति भएको तर, त्यो दस्तावेज मन्त्रालयमा थन्किने र काम अघि नबढ्ने समस्या भएको उनको भनाइ छ । अबको एक सातासम्म पनि काम सुचारु नगरिए मन्त्रालय घेराउ तथा राजमार्गमा चक्काजाम गर्नेसम्मको चरणबद्ध आन्दोलन गर्न चेतावनी स्थानीयवासीले दिएका हुन् । ठेकेदार कम्पनीका फिल्ड इञ्चार्ज विष्णु अर्यालले निर्माण अवधि थप गर्न माग गर्ने र अबको समयसिमाभित्र काम सक्ने बताए । यसअघि मेशिनरी पार्टपूर्जाको समस्या भएर काम हुन नसकेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*