अत्तोपत्तो नभएका १० सहकारी भेटिए ‘सदस्यका एक अर्ब बढी रकम सुरक्षित’
हेटौंडा -उपमहानगरपालिकाभित्र कार्यक्षेत्र भएर पनि कार्यालय सञ्चालन नगरी झोलाभित्रै थन्किएका १६ वटा सहकारीमध्ये १० वटा सहकारीहरु उपमहानगरपालिका कार्यालयको सम्पर्कमा आएका हुन् । यसअघि बचतकर्ताहरुको अर्बौ रकमसहित सहकारीहरु सम्पर्कमै नभएको भन्दै उपमहानगरपालिकाले कारबाही स्वरुप खारेजीको प्रक्रियामा लगेको थियो । उपमहानगरको उद्योग, सहकारी, पर्यटन शाखाले सम्पर्कमा नभएका सहकारीहरुलाई तत्काल सम्पर्कमा आई हरहिसाब बुझाउन निर्देशन नै जारी गरेको थियो । कानुनअनुसार सहकारी क्षेत्रको नियमनकारी निकाय उपमहानगरपालिका रहेको छ । यसअघि लथालिङ रहेका सहकारीहरुलाई उपमहानगरपालिकाले नियमन गरिरहेको पाइएको हो ।
उपमहानगरको उद्योग, सहकारी, पर्यटन शाखा प्रमुख हिमप्रसाद पौडेलले हराएको १६ वटा सहकारीमध्ये १० वटा भेटिएको जानकारी दिए । उनका अनुसार सम्पर्कमा आएका १० वटामध्ये ९ वटा सहकारीहरुको साधारणसभा गराएर अधिकांशमा नयाँ कार्यसमिति समेत गठन गरिएको छ । ‘९ वटा सहकारीलाई हामीले पुनः सक्रिय बनाएका छौं । यसो गर्दा बचतकर्ताहरुको बचत संरक्षण हुन पुगेको छ ।,’ पौडेलले भने । पौडेलले ९ वटा सहकारी भेटिँदा एक अर्ब भन्दा बढी रकम संरक्षण हुन पुगेको बताए । ‘हाम्रो सम्पर्कमै नआएका सहकारीहरुमा बचतकर्ताहरुको कति रकम बचत थियो भनेर थाहा थिएन् । अहिले ९ वटा सहकारीमा एक अर्ब भन्दा बढी रकम बचत भएको रहेछ । यसलाई हामीले निगरानी गरेपछि बचतकर्ताहरुको रकमसंरक्षण भएको छ,’ पौडेलले भने ।
भेटिएका सहकारी १, ३, ४, ६, १०, ११, १२, १३ र १८ नम्बर वडाभित्रका हुन् । यसैगरी १० वटामध्ये ९ वटा सहकारी यसअघि नै सम्पर्कमा आएपनि एउटा सहकारी भने बिहीवार मात्रै उपमहानगरपालिकाको सम्पर्कमा आएको छ । ३ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको त्यस सहकारी बिहीवार मात्रै सम्पर्कमा आएका पौडेलले बताए । उक्त सहकारीलाई पनि साधारणसभा गराएर सक्रिय बनाइने उनले बताएका छन् । हेटौंडाभित्र कार्यक्षेत्र रहेका अझै ६ वटा सहकारी सम्पर्क बाहिर छन् । ६ वटा सहकारीको खोजी भइरहेको पौडेलले बताए । दर्ताअनुसार हेटौंडाको ४, १२, १५, १३ र १० नम्बर वडाका ६ वटा सहकारीको अझै अस्तित्व नभेटिएको हो ।
हेटौंडा उपमहानगरपालिकाभित्र कार्यक्षेत्र भएर पनि कार्यालय सञ्चालन नगरी झोलाभित्रै थन्किएका सहकारीहरुलाई कारबाही गर्ने पौडेल बताउँछन् । सर्वसाधारणको लाखौं रकम उठाएर कार्यालयसमेत नराखी सञ्चालन हुँदै आएका वा अस्तित्वमै नभएका ६ वटा सहकारीलाई हेटौंडा उपमहानगरले खारेजीको प्रक्रियामा लाने भएको हो । ६ वटा सहकारीको कार्यालय, उनीहरुको
कारोबार, सर्वसाधारणको लगानी सुरक्षाको कुनै जानकारी नभएपछि उपमहानगरले खोजी अघि बढाएको छ । करिब डेढ वर्ष अघिदेखि नै सहकारी दर्ता गर्ने व्यक्तिको झोलामा थन्किएको र झोलाबाटै चलेका सहकारीको खोजी उपमहानगरले गरेको हो ।
यसअघि हेटौंडा–१ मा दर्ता भएको नारी बचत तथा ऋण सहकारी, २ नम्बर वडाको जलजला जडिबुटी सहकारी, ३ नम्बर वडाको सुखी भविष्य बचत तथा ऋण सहकारी, ४ नम्बर वडाको जय कालिका बचत तथा ऋण सहकारी, नागरिक बचत, कान्तिपुर बचत र स्वतिक बचत तथा ऋण सहकारी, ७ नम्बर वडाको महालक्ष्मी कृषि सहकारी, ११ नम्बर वडाको महिला घरेलु सामान उत्पादन तथा बिक्री वितरण सहकारी सम्पर्कबाहिर थिए । यसैगरी, १३ नम्बर वडाको नमोबुद्ध बचत तथा ऋण सहकारी, १६ नम्बर वडाको जुरेथुम कृषि सहकारी संस्था र १८ नम्बर वडाको आँपखोला दुग्ध उत्पादक सहकारी तथा रामधुनी महिला दुग्ध उत्पादक सहकारीलाई पनि उपमहानगरले खोजी गरिरहेको थियो ।
हाल हराएका ६ वटा सहकारीहरुको आर्थिक कारोबारमाथि उपमहानगरपालिकाले आशंका गरेको हो । यसअघि सहकारीहरुले मनलाग्दी गर्दासमेत उपमहानगरपालिका बेखबर थियो । संघीय
सरकार मातहतको तत्कालीन डिभिजन सहकारी कार्यालय मकवानपुरमा दर्ता भई हेटौंडा उपमहानगरभित्र सञ्चालनमा रहेका सहकारीको अनुगमन गर्ने क्रममा १६ सहकारी संस्था गायब रहेका पाइएको हो । उपमहानगरभित्र २ सय २२ सहकारी संस्था छन् । तत्कालीन डिभिजन सहकारीबाट संघीयता स्थापनासँगै २०७४ सालमा हेटौंडा उपमहानगरपालिकालाई जिम्मेवारी हस्तान्तरण भएको थियो । सहकारी संस्थाले वार्षिक लेखा परीक्षण, साधारणसभा लगायत अन्य अतिआवश्यक कामहरु समेत नगरेको पौडेलले जानकारी दिए ।
यसैगरी, हेटौंडामा सहकारी बिनियमविपरित घरजग्गामा लगानी गर्ने सहकारीमाथि पनि उपमहानगरपालिकाले निगरानी बढाएको छ । उत्पादन क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित खुलेका हेटौंडाका ३–४ वटा सहकारीहरुले घरजग्गामा व्यापार गरिरहेकाले उनीहरुमाथि निगरानी बढाइएको र कारबाही गर्नसमेत उपमहानगरपालिका तयारी अवस्थामा बसेको सहकारी शाखा प्रमुख पौडेलले जानकारी दिए । कतिपय सहकारीहरुले बचतकर्ताको रकम घरजग्गामा लगानी गर्दा बचतकर्ताहरुले ऋण नपाउनेदेखि र बचत रकम पनि फिर्ता लिन नसकेको गुनासो आइरहेको छ । लिखित उजुरी आएका तत्काल कारबाही गरिने पौडेलले बताए ।







