व्यक्तिगत र संस्थागत अनुदान अब बन्द : मुख्यमन्त्री
हेटौंडा-बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले व्यक्तिगत र संस्थागत अनुदान अब बन्द गर्ने बताएका छन् । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाको २४ औं साधारणसभा तथा रेडियो मकवानपुरका १३ औं बार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलल यस्तो बताएका हुन् । उनले कृषि क्षेत्रमा दिने गरिएको अनावश्यक अनुदान बन्द गर्ने बताए । उनले प्रदेश तहबाट विभिन्न क्षेत्रमा व्यक्ति वा संस्थालाई वितरण गरिँदै आएको अनुदान दुरुपयोग भएकोले त्यसलाई बन्द गर्ने बताए ।
कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी फ्रेण्ड्स हेटौंडाका कार्यक्रम संयोजक किरण थापा र कुष्माण्ड सरोवर त्रिवेणीधाम विकास समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेलाई सामुदायिक सम्मान २०७९ प्रदानगरिएको छ । उनीहरुलाई जनही नगद १० हजार रुपैयाँसहित सामुदायिक सम्मान प्रदान गरिएको हो । थापाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको क्षेत्रमा र न्यौपानेले धार्मिक क्षेत्रमा योगदान पु¥याएको भन्दै रेडियोले सम्मान गरेको हो ।
दिव्यतारा सहकारीका अध्यक्ष डा. गणेश बल लामाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलान, जिल्ला सहकारी संघ मकवानपुर अध्यक्ष एवम् बागमती प्रदेश सहकारी विकास बोर्ड उपाध्यक्ष नारायणप्रसाद देवकोटा, हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा अध्यक्ष बिष्णुगोपाल महर्जन, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुली, सामुदायिक सम्मानबाट सम्मानित फ्रेण्ड्स हेटौंडाका कार्यक्रम संयोजक किरण थापा, दिव्यताराका कार्यसमिति सदस्य एवम् युवा स्वरोजगार तथा साना व्यवसायी कोषका संयोजक सर्मिला डंगोल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमको सन्दर्भमा भएको विभिन्न कार्यक्रमका विजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कविता प्रतियोगिताका प्रथम, द्वितीय र तृत्तीय भएका हेटौंडा स्कूल अफ म्यानेजमेण्टका रोशनी चौलागाई, जीएस निकेतनका समर्पण न्यौपाने र बालजागृति इङ्लिस सेकेण्डरी स्कूलका कृषाङ्गी अर्याललाई क्रमशःनगद १० हजार, ७ हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो । यस्तै मिडिया कप फुट्सलका विजेता खेलकुद पत्रकार मञ्च मकवानपुरलाई नगद १५ हजार र उपविजेता टिम टेलिभिजनलाई ७ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो । सप्ताहव्यापी कार्यक्रमका सहयोगी संघसंस्थालाई कदरपत्र प्रदान गरिएको थियो ।







