फागुन १ गतेबाट बागमतीमा ७० अंक प्रणाली लागू हुने
हेटौंडा- फागुन १ गतेबाट बागमती प्रदेशमा ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र लाइसेन्सको ट्रायल पास हुने प्रणाली लागू हुने भएको छ । यसअघि पटक–पटक रोकिँदै आएको ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र लाइसेन्सको ट्रायल पास हुने प्रणाली फागुन १ गतेबाट लागू हुने भएको हो । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशमा सो प्रणाली लागू गर्नको लागि श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई अख्तियारी दिइसकेका छन् । उनले फागुन १ गतेबाट प्रदेशको उपत्यकाको जिल्लाहरुबाट ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र लाइसेन्सको ट्रायल पास हुने प्रणाली लागू गर्न यातायात मन्त्रालयलाई निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्य सचिव मुकुन्दप्रसाद निरौलाले यातायात मन्त्रालयलाई मुख्यमन्त्रीले निर्देशन दिइसकेकाले फागुन १ गतेबाट सो अंक प्रणाली लागू हुने बताए । ‘यसअघि ट्रायल सेन्टरका सञ्चालकहरुले नै अहिले हामि सक्दैनौं भनेको भएर रोकिएको थियो । अहिले उहाँहरुले नै सक्छौं भन्नु भएपछि हामिले यसलाई लागू गर्ने तयारी गरेका छौं’, उनले भने । यसअघिको सरकारको श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले लागू गर्न खोजे पनि मुख्यमन्त्री राजेन्द्र पाण्डेले हस्तक्षेप गर्दा लागू हुन सकेको थिएन । उनले ३ पटकसम्म उक्त प्रणाली लागू गर्ने तयारी गरेका थिए ।
तत्कालीन मुख्यमन्त्री पाण्डेको हस्तक्षेपका कारण ३ पटक रोकिएको ७० अंक ल्याए ट्रायल पास हुने प्रणालीलाई वर्तमान मुख्यमन्त्रीले कार्यान्वयनतर्फ लैजाने भएका छन् । बागमती प्रदेशको नवनियुक्त श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले ७० अंक ल्याए लाइसेन्स पास हुने प्रणाली कार्यान्वयन गर्ने बताए । अन्य प्रदेशहरुमा लागू भइसकेको प्रणाली बागमती प्रदेशमा मात्रै रोक्न नहुने भन्दै मन्त्री श्रेष्ठले फागुन १ गतेबाट बागमती प्रदेशमा पनि उक्त प्रणाली लागू गरिने बताए ।
सानो त्रुटिमा पनि फेल गराउँदा लाइसेन्स वितरणमा ढिलाई हुनुको साथै चालकहरुले अवैधानिक रुपमा लाइसेन्स निकाल्ने प्रकरण बढेको उनको भनाइ छ । ‘सानोतिनो गल्ति भनेको चलाउँदै जाँदा सिक्दै जान्छन्’, उनले भने– ‘सानो गल्तिमा पनि ट्रायल फेल गर्दा झन् बढी समस्या भएको छ । अरु प्रदेशमा लागू भइसकेको यो प्रणाली बागमती प्रदेशमा पनि अब रोकिँदैन ।’ उनले अघिल्लो
सरकारले किन रोक्यो भन्ने विषयमा आफूले जवाफ नदिने भन्दै कुनैपनि हालतमा सो प्रणाली लागू गर्ने दाबी गरे ।
यसअघि एक महिनाअघि पुस २० गते बुधबारबाट यो प्रणाली लागू गर्ने तयारी थियो । तर, प्रदेशको तत्कालीन मुख्यमन्त्री पाण्डेले तेस्रोपटक उक्त प्रणाली कार्यान्वयन हुनबाट रोकेका थिए । बागमती प्रदेशको सरकारका तत्कालीन श्रम, रोजगार तथा यातायातमन्त्री दाहालले ट्रायल सेन्टर सञ्चालन गरिरहेका यातायात कार्यालय प्रमुखहरू पुस २० गते बुधबारबाट ७० प्रतिशत प्रणाली लागू गर्न सहमत भएकोमा मुख्यमन्त्री कार्यालयको हस्तक्षेपका कारण लागू हुँदाहुँदै फेरि रोकिएको बताएका थिए ।
गत पुस २० गतेबाट लागू हुने तयारीमा रहेको ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली कार्यान्वयन नगर्न मुख्यमन्त्री कार्यालयले यातायात मन्त्रालयलाई पत्राचार गरेर रोक लगाएको थियो । यसअघि असोज २ गते र मंसिर १८ गतेबाट उक्त प्रणाली लागू गर्ने भनिएपछि मुख्यमन्त्री पाण्डेकै निर्देशनमा रोकिएको थियो । नेपालका ४ वटा प्रदेशमा लागू भइसकेको प्रणाली बागमतीमा मात्रै पटक–पटक हस्तक्षेप गरेर पाण्डेले रोकेको आरोप छ । मन्त्री दाहालले मुख्यमन्त्रीसँगको सल्लाहमा नै शुरुवातमा उक्त प्रणाली कार्यान्वयन गर्न खोजिएको भन्दै उक्त बेला हुन्छ भनेर सहमति दिएका पाण्डेले पछि पटक–पटक सो प्रणाली लागू गर्न रोकेका थिए ।
यातायात व्यवस्था विभागले २०७८ सालमै उक्त कार्यविधि तयार पारेर प्रदेशलाई पठाए पनि लागू गरिएको थिएन । यो प्रणाली लागू भए प्रयोगात्मक परीक्षामा सहभागी हुनेले सामान्य गल्ती गरेमा अनुत्तीर्ण हुने समस्या हल हुने यातायात मन्त्रालयको दाबी छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रणालीका विषयमा अध्ययन गर्ने भन्दै प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिवको संयोजनमा समिति गठन गरी तत्कालका लागि प्रणाली लागू नगर्न भन्दै निर्देशन दिएको थियो । प्रणाली लागू गर्ने विषयमा तत्कालीन मुख्यमन्त्री पाण्डे र मन्त्री दाहालबीच विगत केही महिनादेखि मनमुटाव चलेको थियो ।
उक्त प्रणाली लागू भए मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कूल अंकभार १ सय तोकिएको छ । त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिने छन् । प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो ८ (एट आकार) को अंकभार २० तोकिएको छ । दुईपटकसम्म अंकित रेखा छोएमा प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर ट्रायल फेल भइँदैन । दुई पटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा धेरैपटक खुट्टाले भुईं टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट ८ आकार नबनाए वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था गरिएको छ । साँघुरो फलेकको अंकभार १० तोकिएको छ ।
साँघुरो फलेकमा खुट्टाले भुईंमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्के पनि अनुत्तीर्ण हुनेछन् । निर्देशिकामा यु–टर्नको अंकभार १० तोकिएको छ । टर्निङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ । त्यस्तो अवस्थामा पनि अंकित रेखा छोए भने अनुत्तीर्ण हुनेछन् । ट्राफिक संकेतका लागि १५ अंकभार तोकिएको छ । ट्राफिक संकेत पालना नगरेको खण्डमा १५ अंक घटाइनेछ । निर्देशिकामा उबडखाबडको अंकभार १५ तोकिएको छ ।एक पटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा ५ अंकभार घटाइनेछ । एक पटकभन्दा बढी स्टार्ट बन्द भयो भने प्रयोगात्मक परीक्षा दिने अनुत्तीर्ण हुनेछन् । त्यसैगरी उकालो (¥याप) को अंकभार २० तोकिएको छ ।
त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याड्ढनलाई १० अंकभार तोकिएको छ । कार, जीप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको कूल अंकभार १ सय तोकिएको छ । जसमा ७० प्रतिशत ल्याएको खण्डमा प्रशिक्षार्थी उत्तीर्ण भएको मानिनेछ । निर्देशिकाअनुसार कार, जीप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो ८ (एट) को अंकभार २० तोकिएको छ । दुई पटकसम्म अंकित रेखा छोए प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर ट्रायल फेल भइँदैन ।
दुई पटकभन्दा बढी अंकित रेखा छोए, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गए, ठीक दिशाबाट वा ठीक तरिकाबाट ८ आकार नबनाएकोमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण हुने व्यवस्था गरिएको छ । निर्देशिकामा ट्राफिक संकेतको अंकभार १५ तोकिएको छ । पालना नगरे १५ अंक घट्ने प्रावधान राखिएको छ । त्यसैगरी यु–टर्नको अंकभार १० तोकिएको छ । टर्निङ इन्डिकेटर लाइट नबालेको खण्डमा १० अंकभार घटाइनेछ । अंकित रेखा छोएको खण्डमा भने प्रशिक्षार्थी अनुत्तीर्ण हुनेछन् । चारपांग्रे सवारी चालकलाई ¥याम (उकालो)का लागि अंकभार १५ तोकिएको छ ।
तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी अगाडि बढेमा, रोकिएको अवस्थामा सवारीसाधन अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ ईन्चभन्दा पछाडि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको सीमा नाघी सवारी रोकेमा वा एक पटकभन्दा धेरै सवारी स्टार्ट बन्द भएमा अनुत्तीर्ण हुनेछ । ग्यारेज पार्किङको अंकभार १० तोकिएको छ । त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्याड्ढनलाई १० अंकभार तोकिएको छ ।







