हेटौंडा आइडलको उपाधि दिपेश श्रेष्ठलाई
हेटौंडा- हेटौंडा १० भुटनदेवी पार्कमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगितामा फाइनलमा पुगेका पाँच जना प्रतिस्पर्धीलाई उछिन्दै दीपेश श्रेष्ठले उपाधि हात पारेका छन् । आइतबार भएको ग्राण्ड फाइनलमा आफ्नो गायन प्रस्तुति दिँदै उनले हेटौंडा आइडलको उपाधि प्राप्त गरेका हुन् । आइडलको फष्ट रनर अप सुशन शाही ठकुरी भएका छन् भने सेकेन्ड रनर अप प्रेमलाल बैठा भएका छन् । उनीहरुले निर्णायकको मूल्याड्ढन, टिकट र एसएमएसबाट प्राप्त भएको भोटिङको आधारमा बिजेता बनेका हुन् ।
प्रतियोगितामा अनिता मोक्तानले चौथो स्थान र सुस्मिता श्रेष्ठले पाँचौ स्थान हासिल गरेका छन् । आइडल बनेका दीपेश श्रेष्ठले नगद तीस हजार, ट्रफीसहित विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन् । त्यस्तै, सुसन शाही ठकुरीले बीस हजार नगद, ट्रफीसहित विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन् भने प्रेमलाल बैठाले नगद दश हजारसहित ट्रफी विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन् ।
हेटौंडा आइडलको प्रायोजकमा हेटौंडामा रहेको लक्की ज्वेलर्स रहेको हेटौंडा आइडल व्यवस्थापन समितिका संयोजक एवम् मउवा संघका कार्यसमिति सदस्य अंकिता सुमार्गीले बताइन् । आइडल बनेका श्रेष्ठलाई बोन ट्राभल्स एण्ड टुर्सको तर्फबाट माउन्टेन फ्लाइटको सुविधास्वरुप पुरस्कार दिइएको छ । आइडलको निर्णायकमा बिजय कार्की, ईश्वर खड्का र कृष्णगोपाल सिंह रहेका थिए । आइडलमा २० जना प्रतिस्पर्धीले प्रतिपर्धा गरेका थिए ।







