जसले घाँस काट्ने कचियाले बाघसँग जुधेर ज्यान बचाइन्
हेटौंडा- हेटौंडामा गत कार्तिकदेखि सुरु बाघको आतंक चार महिनासम्म पनि कायम रहेको छ । कार्तिकमा हेटौंडा–१, स्थित भैरवडाँडामा देखिएको बाघ घुमिफिरी पुनः हेटौँडाको १८ नम्बर वडामा देखिएको डिभिवन वन कार्यालयले अनुमान लगाएको छ ।पाटे बाघले कार्तिकमा करिब २० दिन भैरवडाँडामा आतंक मच्चाएको थियो । बुधवार बाघकै आक्रमणबाट हेटौंडा–१८, हर्नामाडी निवासी एक महिलालाई घाइते बनाएको छ । हर्नामाडीकी ५७ वर्षीया माइतीकुमारी बयलकोटी बाघको मुखबाट बच्न सफल भएकी छन् । हिंस्रक जनावार बाघले जंगलमा एकान्तमा आक्रमण गर्न पाएको अवस्थामा ज्यान लिने गरेको घटना धेरै सुनिएको छ । तर, ५७ वर्षीया बयलकोटी जंगलमा बाघसँग जुधेर मृत्युको मुघबाट बँचेकी छन् । हर्नामाडीको मानेडाँडा बस्ने उनी बुधवार करिब अपरान्ह ४ बजेको समयमा घाँस काट्न जाने क्रममा स्थानीय जंगलमा उनी बाघको आक्रमणमा परेकी थिइन् ।
बाघको आक्रमणबाट घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको १८ नम्बर वडाका वडाध्यक्ष अनिल बानियाँले जानकारी दिएका छन् । घाइते माइतीकुमारीको अवस्था बुझ्न अस्पताल पुगेका भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, वडाध्यक्ष बानियाँ, हेटौँडा–४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलले उनी बाघको मुखबाट बच्न सफल भएको जानकारी दिए । ‘बाघको आक्रमणबाट घाइते हुनुभएको छ । उहाँले कचियाको भरमा बाघसँग जुधेर बाँच्न सफल हुनु भएको बताउनु भयो,’ वडाध्यक्ष सिग्देलले भने ।
रामधुनी सिम्सारमा घाँस काट्न जाँदै गर्दा बाटोमा बाघले बयलकोटीलाई आक्रमण गरेको थियो । उनको ढाड, गाला र ओठमा चोट लागेको वडाध्यक्ष सिग्देलले बताए । मंगलबारदेखि हर्नामाडीको गुम्बाडाँडामा बाघको आतंक थियो । मंगलबार स्थानीय हरिमाया मोक्तानको २ वटा बाख्रा खाएको बाघले बुधवार स्थानीय राजु पहेंलीको एउटा बंगुर खाएको र अर्कोलाई घाइते बनाएको जनाइएको छ । गाउँमा बाघले निरन्तर रुपमा पशुचौपाया मार्ने र मानिसलाई समेत आक्रमण गर्न थालेपछि स्थानीयबासी त्रसित बनेका छन् । यसअघि हेटौँडाको १ नम्बर वडास्थित भैरवडाँडामा बाघको आतंक थियो ।
गत कार्तिकमा १ नम्बर वडाको भैरवडाँडामा पशुचौपाया मारेको बाघ मकवानपुरगढी हुँदै बकैया गाउँपालिका पुगेर पुनः हेटौंडा फर्किएको अनुमान डिभिजन वन कार्यालयले लगाएको छ ।
डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख डिभिजनल वन अधिकृत शिव सापकोटाले एउटै बाघले फन्को लगाइरहेको अनुमान लगाए । करिब तीन महिनाअघि मकवानपुरगढीमा बाघलाई क्यामेराले कैद गरेको थियो । सोही बाघ बकैया पुगेको र हेटौंडा फर्किएको सापकोटाले जानकारी दिए । बकैयामा भने क्यामेराको ट्रयापमा बाघ नपरेको उनी बताउँछन् । सापकोटाले उक्त बाघ चितवनस्थित राष्ट्रिय निकुञ्जबाट आएको बताए । चितवनमा भएका बाघहरुमध्ये ३८ नम्बरको बाघ हो भन्ने अध्ययन भइरहेको उनको भनाई छ ।
१३ कार्तिकमा हेटौंडा–१ भैरवडाँडामा एक–एक वटा बाख्रा र गाईको बाच्छा मारेको थियो । त्यसपछि २६ कार्तिकमा मकवानपुरगढी गाउँपालिका–६ मा ७ वटा बाख्रा÷खसी मारेको जनाइएको छ । स्थानीय गोपाल विश्वकर्माको ७ वटा खशी र बाख्रा मारेको हो । हेटौंडाको १ नम्बर वडास्थित भैरवडाँडामा दुई वटा बाख्रा खाएपछि आतंक मच्चिएका ेथियो । बाघको आतंकले करिब १ महिना नै
राम्रोसँग निदाउन नसकेको स्थानीय बिनोद सापवकोटाले बताए । बाघलाई नियन्त्रणमा लिन वनका कर्मचारीहरु खटिए पनि हालसम्म बाघ समात्न सफल नभएको देखिन्छ । बाघले यसबीचमा मकवानपुरदेखि बकैयासम्म गाईको बाच्छोदेखि कुखुरा, बाख्रा मारेको छ ।
मकवानपुर वन्यजन्तु बाघको उपयुक्त बासस्थान नभए पनि चितवन राष्ट्रिय निकुञ्जबाट मनहरी मध्यवर्ती वन हुँदै लालझाडी आइपुगेको अनुमान लगाइएको छ । राष्ट्रिय प्रकृती संरक्षण कोष चितवनले यसअघि क्यामेरा जडान गरेर बाघलाई ट्यापिङ गर्न खोजेको थियो । तर, क्यामेरा राखेको क्षेत्रबाट बाघले बासस्थान सार्दै हिँडिरहेको छ ।







