७ वटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण
हेटौंडा-बागमती प्रदेश सरकार मातहतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाले प्रदेश सरकार मातहतका ७ वटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । बुधबार बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । ख वर्गको एम्बुलेन्स भक्तपुरको भक्तपुर अस्पताल, ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल, काठमार्डौंको टोखा चण्डेश्वरी अस्पताल, दोलखाको पशुपति चौलागाई स्मृति अस्पताल, काभ्रेको मेथिनकोट अस्पताल, रामेछापको रामेछाप अस्पताल र चितवनको बकुलहर–रत्ननगर अस्पताललाई हस्तान्तरण गरिएको छ । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले कर छुट सुविधासहित प्रति एम्बुलेन्स ५२ लाख ९० हजार रुपैयाँमा खरिद गरिएको जनाएको छ । प्रदेश सरकार मातहतमा १३ वटा अस्पताल रहेका छन् । यसअघि गरेको थियो ।
कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री श्रेष्ठले प्रदेशका सबै नागरिकहरुसम्म स्वास्थ्य सेवा पुग्न नसकेको बताए । श्रेष्ठले प्रदेशका गरिब र विपन्न वर्गका नागरिकहरु अझै स्वास्थ्य सेवाबाट बञ्चित
रहेको बताए । उनले गरिब, विपन्न, सीमान्तकृत, लोपोन्मुख समुदायका नागरिहरुको स्वास्थ्यमा पहुँचमा पुर्याउनका लागि सरकार गम्भीर भएर काम गरिरहेको बताए ।नागरिकको उचित स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारप्रति सरकार गम्भीर रहेको र सरकारलाई उक्त दायित्वबोध भएकाले त्यसका लागि नीतिगत रुपमा अघि बढ्ने तयारी भ्एको बताए । उनले प्रदेशका सबै नागरिकलाई स्तरीय स्वस्थ्यको पहुँचका लागि स्वस्थ्य बीमालाई प्रभावकारी बनाउने तयारी गरेको बताए ।
स्वास्थ्य बीमामार्फत प्रदेशका सबै नागरिकहरुलाई स्वस्थ्यको पहुँचमा पुर्याउने उनले दावी गरे । उनले नागरिकहरुको स्वास्थ्य सेवाको स्थिति र स्तरीयतालाईमध्ये नजर गर्दै प्रदेश स्वास्थ्य नीति निर्माण
गरि अघि बढ्ने बताए । सो कार्यका लागि मन्त्रालयले अध्ययन तथा अनुसन्धान समिति बनाएर अघि बढेको उनको भनाई छ ।उनका अनुसार मन्त्रालयका सचिवको नेतृत्वमा उक्त समिति रहेको र त्यसले काम सुरु गरिसकेको छ । उक्त समितिको सूझाव अनुसार प्रदेश स्वास्थ्य नीतिको मस्यौंदा तयार गरि त्यस उपर विज्ञहरुसँगको छलफलबाट ऐन निर्माणका प्रक्रिया अघि बढाइने उनले बताए । उनले स्वास्थ्य सेवाको स्तरीयता मापन, विज्ञ जनशक्तिको व्यवस्थापन नागरिकको स्वास्थ्य उपचारको स्थिति मापनका लागि प्रदेश सरकारले स्वास्थ्य अनुसन्धान परिषद गठनको प्रक्रिया सुरु गरिएको बताए ।
उक्त परिषद गठनपछि प्रदेशका अस्पतालहरुको सेवा स्तरमा सुधार आउने उनको भनाई छ । उनले सरकारले निःशुल्क प्रदान गर्दै आएको औषधी अभाव हुन नदिन सरकार गम्भीर रहेको र सबै कर्मचारीहरुको सहकार्य आवश्यक रहेको बताए । योजना तथा नीति कार्यान्वयनमा सहयोग गर्न र समस्याको समाधानका लागि सरकार तयार रहेकाले भयरहित वातावरणमा काम गर्न उनले कर्मचारीहरुलाई निर्देशन समेत दिए ।स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र परिसरमा आयोजना गरिएको एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्रिबहादुर खड्का, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठ, केन्द्रका प्रमुख डा. अर्जुनप्रसाद सापकोटाको पनि उपस्थिति रहेको थियो ।







