शिवम् सिमेन्टविरुद्ध उजुरी
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१६, हटियास्थित उद्योग रहेको शिवम् सिमेन्टविरुद्ध उजुरी परेको छ ।भ्रामक विज्ञापन गरेको भन्दै शिवम् सिमेन्टविरुद्ध उजुरी परेको हो । शिवम् सिमेन्ट लिमिटेडले आफूमात्रै ओपीसी सिमेन्ट उत्पादक कम्पनी भएको दाबी गर्दै विज्ञापन गरेको थियो । उक्त विज्ञापन भ्रामक रहेको भन्दै उपभोक्ता अधिकार अनुसन्धान मञ्चले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी दिएको हो । शिवम् सिमेन्टले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ७ को १ (छ) विपरीत काम गरेको मञ्चले जनाएको छ ।
ऐनको दफा ७ को १ (छ) मा वस्तु वा सेवाको गलत वा भ्रामक विज्ञापन वा प्रचार प्रसार गर्न नपाइने व्यवस्था रहेको मञ्चका अध्यक्ष माधव तिमल्सिनाले जानकारी दिए । भ्रामक विज्ञापन गर्नेलाई दुईदेखि तीन वर्षसम्म कैद तथा ३ देखि ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ । शिवम्को मुख्य चुनढुंगा उत्खनन् क्षेत्र मकवानपुरगढीको ८ नम्बर वडाका बासिन्दाले पनि वर्षौदेखि गाउँपालिका कार्यालयदेखि सरोकारवाला निकायमा उजुरी गर्दै आएका छन् । खानी क्षेत्रबाट जाथाभावी ओभरवटन फालेको भन्दै स्थानीयहरुले बस्ती संरक्षणको माग वर्षौदेखि उठाउँदै आएपनि सरोकारवाला निकायहरुले चासो दिएका छैनन् ।







