बागमतीका कृषिमन्त्रीसँग विदेशी तरकारी रोक्न माग
हेटौंडा-भारतलगायतका तेस्रो मुलुकबाट तरकारी आयातका कारण नेपालमा उत्पादित तरकारी बिक्री नभएको झोकमा आन्दोलित किसानहरुले बागमतीका कृषिमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।विगत केही दिनदेखि देशका मुख्य सहरहरुमा किसानहरुले उत्पादित तरकारी सडकमै फालेर सरकारलाई विदेशी तरकारी आयातमा रोक्न लगाउन दबाब दिइरहेका छन् । नेपालमा भारत सहित अन्य मुलुकमा उत्पादित तरकारीहरु आयात भइरहेका छन् । जसमध्ये ठूलो परिमाणका तरकारी भारतबाट आयात हुँदै आएको छ । बिहीवार बागमतीका कृषि तथा पशुपन्छी विकास मन्त्री केशवप्रसाद पोखरेललाई किसानहरुले विभिन्न माग राखी ज्ञापन पत्र बुझाएका छन् । किसानहरुले स्वदेशी तरकारी तथा कृषिजन्य उत्पादनलाई प्रोत्साहनगरी विदेशी आयतीत तरकारी तथा कृषि जन्य बस्तुलाई निषेधित माग गरेका हुन् ।
बागमती प्रदेशका १३ जिल्लामध्ये कृषि उत्पादनमा अब्बल चितवनका तरकारी किसानहरुले बिचौलियाको कारण तरकारी उत्पादक किसानले मुल्य नपाउने तर उपभोक्ताले बढी मुल्य तिर्नु परेको गुनासो मन्त्रीहरुलाई राखेका हुन् । यसअघि चितवनमै किसानहरुले सडकमा आन्दोलन गरेका थिए । किसानले सरकारी बीमा संस्थानबाट नै तरकारी तथा कृषिजन्य बस्तु र किसानको स्वत बीमा गर्ने व्यवस्था गरिनुपर्ने, सरकारको माताहतमारहेको बाँझो जमिनहरुमा खेती गर्ने व्यवस्था गरिनुपर्ने लगायतको माग गरेका हुन् ।
तत्कालिन अवस्थामारहेको अनुदान नीति खारेज गरि उत्पादन र आधारमा अनुदान दिने नीति ल्याउनु पर्ने, तरकारी तथा कृषि व्यवसायलाई औद्योगिकिरण गर्ने नीति निमार्ण गरी तत्कालै लागू गर्नुपर्ने, गुणस्तरीय बीउ बिजन, विषाधी र रासायनिक मलको सर्वसुलभ र निर्वाद रुपमा किसानको पहँचमा पुग्ने र सरकारी तवरबाट अनुगमन र प्रमाणिकरण गर्ने व्यवस्था गर्नुपर्ने माग किसानहरुको छ । प्रदेश
सरकारले तरकारी तथा कृषिजन्य बस्तुहरुमा लागत मूल्य भन्दा बजार मुल्य कम गर्ने योजना ल्याएको र आगामी दिनमा किसानलाई प्रोत्साहन प्राप्त हुने कृषि मन्त्री पोखरेलले बताए ।







