चित्लाङ–चन्द्रागिरी सडकको निरीक्षण
हेटौंडा-उत्तरी क्षेत्रको ‘समृद्धि ढोका’ भनेर परिचित चित्लाङ–चन्द्रागिरी सडकको निरीक्षण गरिएको छ ।सडकको प्रतिनिधि सभामा मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का सांसद महेशकुमार बर्तौलासहित सडक विभागका महानिर्देशक अर्जुन जंग थापाले निरीक्षण गरेका हुन् । सडक सांस्कृतिक तथा पर्यटकीय महत्व बोकेको सडक भएको तथा यसले मकवानपुरको उत्तरी भेगको जनजिविकामा प्रत्यक्ष लाभ पुग्ने भएकोले सडकको स्तरिकरण तथा पुर्ण कालोपत्रे हुनुपर्ने सांसद बर्तौलाले जोड दिएका छन् । बर्तौलाले स्थानीय सरोकार समितिको संयोजनमा चित्लाङका स्थानीय बासिन्दाहरुसँग सडक स्तरोन्नतीका विषयमा छलफलसमेत गरेका छन् । उनले सडक स्तरोन्नतीका लागि आफूले ध्यान दिइरहेको बताए । सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेमा आफू सक्रिय भइरहने उनको
भनाई छ ।
सडक विभागका महानिर्देशक थापाले सडकको केही खण्डहरु सुधार गर्नुपर्ने, केही क्षेत्रमा कटिङ गर्नुपर्ने, नाला व्यवस्थापन तथा कालोपत्रे अबको प्रमुख काम रहेको जानकारी दिए । अहिले कच्ची सडक भएर नै थानकोटदेखि हेटोंडा तथा बिरगंज मालबाहक गाडी, तरकारी गाडीहरु सञ्चालन भइरहेका छन् । चित्लाङ–चन्द्रागिरी सडक पूर्ण रुपमा निर्माण सम्पन्न भएपछि इन्द्रसरोबर र थाहा नगरपालिकाको पर्यटनमा उल्लेख्य विकास हुने विश्वास लिइएको छ । हाल धेरै संख्यामा आन्तरिक पर्यटकहरु थाहा नगर क्षेत्रको नेवाः साँस्कृतिक विविधता, स्थानीय होमस्टे तथा इन्द्रसरोवरको तालसँग रमाउँदै दामन घुम्न आउने गरेका छन् ।
चित्लाङ–चन्द्रगिरी सडकको सुरुवाती बिन्दु मानिएको चनिवन ब्यारेकबाट काठमाडौंको थानकोट प्रहरी चेक पोष्टसम्म १८ किमि दुरीको सडक रहेको छ । चित्लाङ फेदीबाट थानकोट १२ किमि मात्रै रहेको छ । यो सडकको १८ किमि दुरी पार गर्न अहिले सरदर बाईकहरु ३५ मिनेट तथा मोटर गाडी ५० मिनेट लगाउने गरेकोमा कालोपत्रे भएपछि आधा घण्टाको बाटो हुन सक्ने सडक सरोकार समितिका प्रतिनिधि बुद्धरत्न मानन्धर बताउँछन् । मानन्धरका अनुसार सडक सरोकार समितिको १७ महिनाको मिहेनतबाट बाटो सुधार भएर सचारु भएको छ । सडक अनुगमनमा सांसद महेश बर्तौला, सडक विभागका महानिर्देशक अर्जुन जंग थापा, सडक सरोकार समिति, स्थानीय बुद्धिजिवि डा. रामहरी लामिछाने तथा हरिहर लामिछानेलगायतको उपस्थिति थियो ।







