इन्द्रसरोबरमा सांस्कृतिक कार्यक्रम हुँदै
हेटौंडा- मकवानपुरको इन्द्रसरोबर गाउँपालिका स्थित कुलेखानीको टोड्के चौरमा तेस्रो सोनाम ल्होछार बिशेष बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।कुलेखानीमा सांस्कृति कार्यक्रमसँगै शान्ति पुजा पनि गरिने भएको छ । कुलेखानी तामाङ समाजको आयोजनामा हुने सोनाम ल्होछार बिशेष सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको समाजका अध्यक्ष बिरेन गोले तामाङले जानकारी दिए ।
तामाङ समुदायको पर्व २८५९ ह्योई÷तावर ल्हो (बिरालो वर्ग) सोनाम ल्होछारको अबसरमा यही माघ २८ गते शनिबार हुने ल्होछार विशेष बृहत सांस्कृतिक कार्यक्रमलाई सफल बनाउन यस पटक गायक तथा संगीतकार सन्जिब वाइबा, गायिका निर्मला घिसिङ, प्रकाश तितुङ, अशोक तामाङ, रबिन्द्र लामा र तबु वाईबा लगायतको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
स्थानीय पर्यटन प्रवद्र्धनको लागि सांस्कृतिक पर्व ल्होछारलाई आ–आफ्नो घर आगनमा मनाउने उद्देश्यले कार्यक्रमको तय भएकोले सांस्कृतिक नाचगान कार्यक्रमसँगै लामा गुरुबाट शान्ति पुजा कार्यक्रमसमेत रहेको समाजका अध्यक्ष तथा ल्होछार कार्यक्रमको संयोजक तामाङ्ले बताए ।माघ महिना भरिनै हुने यस्ता ल्होछार सास्कृतिक कार्यक्रमले गाउँ ठाउमा आम तामाङ समुदायमा जागरण ल्याउने समेत बताए । इन्द्रसरोबर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीको प्रमुख आतिथ्यतामा र उपाध्यक्ष उमाकुमारी लामाको विशेष आतिथ्यतामा हुने ल्होछार सांस्कृतिक कार्यक्रम पालिकाकै मुख्य प्रायोजनमा रहेको छ ।
त्यस्तै, सिजी ब्रुअरी नेपालको सह–प्रायोजनमा कार्यक्रममा लामा, बोन्पो, ताम्बालगायतको झाँकी प्रदर्शनी हुने जनाइएको छ । समाजको यो ल्होछार सम्बन्धिको सांस्कृतिक कार्यक्रम पाँचौ पटक हो । कार्यक्रममा पालिकाको ५ वडा बाटै नृत्य प्रस्तुतिको लागि टिम सहभागी हुनेछ भने झाँकी (बोन्पो), लामा, ताम्बा, गान्बा, तामाङ भेषभुषा, डम्फुरे टिमको सहभागिता रहने छ । कार्यक्रम अवधिभर मौलिक खानाका परिकारसहित अन्य खानाको स्टल, तामाङ मौलिक भेषभुषा स्टल रहने आयोजकले जनाएको छ ।







