तीन जना निर्विरोध, आज अध्यक्षदेखि सदस्य चुन्न मतदान
हेटौंडा- निर्माण व्यावसायी संघ मकवानपुरको २३ औं साधारणसभा तथा ११ औं अधिवेशन शनिवारबाट सुरु भएको छ ।अधिवेशनको बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले उद्घाटन गरेका छन् । मन्त्री श्रेष्ठले आफूले निर्माण क्षेत्रमा परेका व्यावसायीहरुको समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । संघको अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्दैछ । संघको आगामी कार्यकालका लागि श्यामसुन्दर ढकाल र बालगोपाल कँडेल दुई वटा प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । निर्वाचन प्रक्रियाअन्तर्गत् शनिवार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ ।
संघको अधिवेशनबाट प्रथम उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा तीन जना निर्विरोध निर्वाचित भएका छन् । प्रथम उपाध्यक्षमा सागर कटुवाल, महासचिवमा राजेन्द्र प्रसाद चौलागाई र कोषाध्यक्षमा अनल श्रेष्ठ निर्विरोध भए । निर्विरोध भएका तीन जना सबै ढकाल प्यानलका हुन् । यी तीन पदमा थप उम्मेदवारी नपरेपछि निर्वाचन समितिले उनीहरुलाई निर्विरोध
गरेको निर्वाचन समिति संयोजक इश्वरराज ढकालले जानकारी दिए । आज आइतबार अध्यक्षदेखि सदस्य सम्मका पदमा मतदान हुने ढकालले बताए ।
अध्यक्ष, द्वितीय र तृतीय उपाध्यक्ष, नीतिगत र आन्तरिक तर्फका दुई उपमहासचिव, सहकोषाध्यक्ष, खुला सदस्य र महिला सदस्यमा निर्वाचन हुने अधिवक्तासमेत रहेका निर्वाचन समिति संयोजक ढकालले जानकारी दिए ।अध्यक्षमा यस अघिका संघ अध्यक्षसमेत रहेका श्यामसुन्दर ढकाल र बालगोपाल कँडेलबीच प्रतिस्पर्धा हुने भएको हो । द्वितीय उपाध्यक्षमा भवनाथ अधिकारी र बुद्धिराम डिम्डुङ, तृतीय उपाध्यक्षमा भोजबहादुर बुढाथोकी र भीमसेन श्रेष्ठ, उपमहासचिव नीतिगततर्फ दिनेश पनेरु र नवराज पाठक, उपमहासचिव आन्तरिकतर्फ सुरज बर्तौला र निर्मल देवकोटा तथा सहकोषाध्यक्षमा हरेराम पुडासैनी र प्रकाश लामाबीच चुनावी भिडन्त पक्का भएको छ ।
कँडेल प्यानलबाट द्वितीय उपाध्यक्ष उम्मेदवार अधिकारी, तृतीय उपाध्यक्ष बुढाथोकी, उपमहासचिव नीतिगततर्फ दिनेश पनेरु, उपमहासचिव आन्तरिक तर्फका बर्तौला र सहकोषाध्यक्षका हरेराम पुडासैनी उम्मेदवार बनेका छन् । द्वितीय उपाध्यक्ष उम्मेदवार डिम्डुङ, तृतीय उपाध्यक्षका श्रेष्ठ, उपमहासचिव नीतिगततर्फका पाठक, उपमहासचिव आन्तरिकका देवकोटा र सहकोषाध्यक्ष प्रकाश लामा ढकाल प्यानलका हुन् । निर्माण व्यवसायी संघको कार्यसमिति १८ सदस्यीय हुने जनाइएको छ ।
खुला सदस्यमा १४ जना र महिला सदस्यमा २ जनाको उम्मेदवारी परेको छ । सदस्य उम्मेदवार अच्युत सुवेदी, अमित श्रेष्ठ, अशेषकुमार सुवेदी, इन्जन सिं मोक्तान, इन्द्र प्रसाद रिजाल, चेतबहादुर थापा मगर, नवीन जोशी, नितेश थापा मगर, भरत प्रसाद सापकोटा, लक्ष्मण सापकोटा, सन्तोष कार्की, सविन भट्टराई क्षेत्री, सहदेव गौतम र सुर्यबहादुर रोक्का रहेका छन् । महिला सदस्यमा उमाकुमारी पौडेल र पुनम तामाङ उम्मेदवार रहेको निर्वाचन समितिका सुजन तिमल्सिनाले जानकारी दिए ।
यसैगरी, शनिवार भएको साधारणसभाको अबसरमा गोरखापत्रका मकवानपुर संवाददाता राममणि दाहाल र कान्तिपुर दैनिकका संवाददाता सुवास बिडारी र समृद्ध समाजका सम्पादक शुरेश श्रेष्ठलाई पत्रकारिताको माध्यमबाट सहयोगी भूमिका निर्वाह गरेकोमा सम्मान गरिएको थियो । सम्मानित तीनै जनालाई जनही नगद ५ हजार रुपैयाँ प्रदान गरिएको हो । संघका अध्यक्ष ढकालको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानलगायतको आतिथ्यता थियो ।







