निर्माण व्यवसायी संघ अध्यक्षमा कँडेल निर्वाचित

साझाकुरा
२०७९ फाल्गुन १, सोमबार ११:१२

हेटौंडा-निर्माण व्यावसायी संघ मकवानपुरको २३ औं साधारणसभा तथा ११ औं अधिवेशनबाट अध्यक्षमा बालगोपाल कँडेल निर्वाचित भएका छन् ।आइतबार साँझ अबेर आएको मत परिणामअनुसार कँडेलले प्रतिद्वन्द्वी निवर्तमान अध्यक्षसमेत रहेका श्याम सुन्दर ढकाललाई पराजित गरेका हुन् । कँडेलले २ सय १६ मत ल्याउँदा ढकालले १ सय ७० मतमात्रै ल्याए । संघको प्रथम उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष पदबाहेक अध्यक्ष, द्वितीय र तृतीय उपाध्यक्ष, नीतिगत र आन्तरिक तर्फका दुई उपमहासचिव, सहकोषाध्यक्ष, खुला सदस्य र महिला सदस्यमा निर्वाचन भएको थियो । शनिबार प्रथम उपाध्यक्षमा सागर कटुवाल, महासचिवमा राजेन्द्रप्रसाद चौलागाई र कोषाध्यक्षमा अनल श्रेष्ठ निर्बिरोध निर्वाचित भएका थिए । यी तीन पदमा थप उम्मेदवारी नपरेपछि निर्वाचन समितिले उनीहरुलाई शनिबार नै निर्बिरोध गरेको थियो ।

निर्वाचनबाट संघको द्वितीय उपाध्यक्षमा भवनाथ अधिकारी बिजयी भए । अधिकारीले २ सय ८ मत ल्याउँदा बुद्धिराम डिम्डुङले १ सय ६१ मत पाएको मतदान अधिकृत अधिवक्ता सुजन तिमल्सिनाले जानकारी दिए । तृतीय उपाध्यक्षमा भीमसेन श्रेष्ठ निर्वाचित भए । २ सय ६१ मत ल्याएका श्रेष्ठविरुद्ध उठेका भोजबहादुर बुढाथोकी १ सय ४१ मतमै सीमित रहे । उपमहासचिव नीतिगततर्फ दिनेश पनेरु र नवराज पाठकबीच प्रतिस्पर्धा भएकोमा पनेरुले १ सय ९० र पाठकले १ सय ७१ ल्याए ।उपमहासचिव आन्तरिक तर्फ १ सय ८५ मतसहित बिजयी सुरज बर्तौला र पराजित भएका निर्मल देवकोटाले १ सय ८० मतमात्रै पाएको मतदान अधिकृत तिमल्सिनाले जानकारी दिएका छन् । सहकोषाध्यक्षमा प्रकाश लामाले हरेराम पुडासैनीलाई हराए । लामाले २ सय १ मत ल्याउँदा पुडासैनीले १ सय ६७ मतमात्रै पाएका थिए ।

पदाधिकारीमा कँडेल प्यानलबाट द्वितीयमा अधिकारी, उपमहासचिव नीतिगततर्फ पनेरु, उपमहासचिव आन्तरिकतर्फका बर्तौला निर्वाचित भए । तृतीय उपाध्यक्षमा जितेका श्रेष्ठ र सहकोषाध्यक्ष लामा अध्यक्षमा पराजित ढकाल प्यानलका हुन् ।निर्वाचनबाट संघको सदस्यहरुमा चेतबहादुर थापामगर, नविन जोशी, ईन्द्रप्रसाद रिजाल, सुविन भट्टराई, अच्युत सुवेदी, भरत सापकोटा, सूर्यबहादुर रोक्का, लक्ष्मण सापकोटा निर्वाचित भए । महिला सदस्यमा उमाकुमारी पौडेल र पुनम तामाङको प्रतिस्पर्धा भएकोमा पौडेल बिजयी भएको मतदान अधिकृत तिमल्सिनाले जानकारी दिए । निर्माण व्यवसायी संघको कार्यसमिति १८ सदस्यीय हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*