हेटौंडा उपमहानगरको ५४ औंं स्थापना दिवस आज
हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले आफ्नो ५४ औं स्थापना दिवस आज सोमबार मनाउँदैछ । २०२६ साल फागुन १ गते स्थापना भएको तत्कालीन नगरपञ्चायतको बैठकको आधिकारीकतालाई मान्दै उपमहानगरले स्थापना दिवस मनाउन लागेको हो ।स्थापना दिवसको पूर्व सन्ध्यामा अतिरिक्त क्रियाकलाप सञ्चालनसँगै आज उपमहानगरले विभिन्न सम्मान तथा पुरस्कार वितरण गर्ने बताएको छ । हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाईका अनुसार ४ पूर्व नगर प्रमुखहरु, २ उपप्रमुखसहित विभिन्न बिधाका व्यक्तित्वहरुलाई सम्मानको कार्यक्रम रहेको छ ।
उपमहानगरले विभिन्न बिधामा ख्याति कमाएका १३ जना, तत्कालीन हेटौंडा नगरपञ्चायतकोे पहिलो माइन्यूटमा हस्ताक्षर गर्ने ३ जना, हेटौंडा गाउँपञ्चायतका तत्कालीन प्रमुख, उपमहानगरका पूर्वकर्मचारीहरु ९ जना, कर्तव्यनिष्ट कर्मचारी ९ जना र २५ वर्षभन्दा बढि समय उपमहानगरमा काम गरिसकेका ३८ जना कर्मचारीलाई दीर्घसेवा पदकबाट सम्मान गरिने कार्यक्रम रहेको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले बताए ।
स्थापना दिवस पारेर हेटौंडा नगरपञ्चायतका पहिलो नगर प्रमुख स्वर्गीय बासुदेव रिजालको संगम चौकमा रहेको अर्घकदको प्रतिमा उपमहानगरको प्रा·णमा स्थानान्तरण गरी अनावरण गरिने, नगर घण्ट (सिटि बेल) को स्थापना गर्ने, ५४ औं स्थापना दिवसको सन्दर्भमा उपमहानगरद्वारा प्रकाशित हेटौंडा दर्पण स्मारिकाको विमोचन र डिजिटल सूचना पाटी राख्ने कार्यक्रम रहेको प्रमुख कार्यकारी अधिकृत चौलागाईले जानकारी दिए । यस्तै, स्थापना दिवसको अवसर पारेर उपमहानगरको अतिरिक्त क्रियकलाप समितिले महिला तथा पुरुष फुटबल, भलिबल, डण्डीबियो, म्यूजिकल चियर र रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।आइतबार उपमहानगर प्रा·णमा आयोजित रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेको समिति संयोजक सुनिल मोक्तानले जानकारी दिए । स्थापना दिवसको बागमती प्रदेशका प्रदेश प्रमुख यादव शर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको उपमहानगरपालिकाले जानाएको छ ।







