यातायात उपभोक्ता सहकारीको साधारणसभा
हेटौंडा- हेटौंडामा यातायात उपभोक्ता सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा भएको छ । साधारणसभामा प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार सहकारीको गत आर्थिक वर्ष २०७८÷०७९ मा १ करोड ११ लाख ५१ हजार ६७ रुपैयाँ रकम बचत रहेको छ । सहकारीले गत आवको शेयर रकम ६ करोड ९१ लाख ३१ हजार ८ सय रुपैयाँलाई ९ दशमलव ५० प्रतिशतका दरले बोनस वितरण गर्ने भएको छ । उक्त बोनस रकम सहकारीको पसलमा उधारो हुनेको हकमा रकम काटिने र बचत खातामा रकम जम्मा गरिने सहकारीले जनाएको छ । आइतबार वरिष्ठ यातायात व्यवसायी टेकनारायण कँडेलको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष किरण पौडेलको सभाध्यक्षतामा साधारणसभा भएको हो ।
कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठ, नारायणी यातायात व्यवसायी संघका पूर्वअध्यक्ष बद्रीप्रसाद चौलागाईं, नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनाललगायतको आतिथ्यता रहेकोमा सहकारीका कोषाध्यक्ष कुमार बर्तौलाले स्वागत मन्तव्य र सचिव सुनिलकुमार न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए । साधारणसभाको अबसरमा पुरुषोत्तम अर्याल र गोपालबहादुर कार्कीलाई संस्थापक सदस्यका रुपमा सम्मान गरिएको छ । सहकारीकी लेखापाल सुश्रीता केसीलाई उत्कृष्ट कर्मचारी सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष श्रेष्ठले यातयात सहकारीले यातायात सामग्रीको बजार मूल्यलाई नियन्त्रण गर्ने कार्य गरेको भन्दै प्रशंसा गरे । उनले व्यवसायीले एकलौटी बजार मूल्य कायम गर्न नसक्ने वातावरण सिर्जना गर्न सहकारीले भूमिका खेलेको बताए । सहकारी अध्यक्ष पौडेलले यातायात सामग्रीको बजार मूल्य नियन्त्रण गर्न सहकारीले भूमिका खेलेको बताए । आर्थिक मन्दीका कारण सहकारीलाई राम्रोसँग अगाडि बढाउन समस्या रहेको पौडेलले बताए ।







