न्यूरेनीवासीलाई १० हजार लिटर निःशुल्क खानेपानी

साझाकुरा
२०७९ फाल्गुन १, सोमबार ११:२०

हेटौंडा- हेटौंडा उपमहानगरपालिकाले उपलब्ध गराएको १० हजार लिटरसम्म निःशुल्क पानीको उपभोग हेटौंडा–१० न्युरेनीका बासिन्दाले पाउने भएका छन् ।१२ वर्षदेखि खानेपानी उपभोक्ता समितिमार्फत् खानेपानीको प्रयोग गर्दै आएका स्थानीयले खानेपानी व्यवस्थापन बोर्डलाई उपभोक्ता समिति हस्तान्तरण गरेसँगै निःशुल्क पानी पाउने भएका हुन् । उपमहानगरका प्रमुख मिनाकुमारी लामाले बोर्डमार्फत् जोडिएको धाराबाट पानीको उपभोग गर्ने नगरबासीलाई १० हजार लिटरसम्म पानीको प्रयोगमा शुल्क नलाग्ने सम्झौता हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग गरेसँगै यहाँका बासिन्दाले निःशुल्क पानीको उपभोग गर्दै आएका छन् ।

बोर्डमा उपभोक्ता समिति हस्तान्तरणसँगै न्युरेनीका १ सय ६० घरधुरीले प्रयोग गर्दै आएको १ सय ३७ धारामा स्वच्छ र सफा खानेपानीको व्यवस्थापन गर्ने काम आफूहरु मातहत आएको अध्यक्ष प्रताप विष्टले बताए ।उपभोक्ता समिति हस्तान्तरण पूर्व बोर्डले न्युरेनीमा नयाँ पाइप लाइनको विस्तारसँगै घरैपिच्छे पानी जडानको व्यवस्था मिलाइसकेको उनले बताए । २०६७ सालबाटै १५० रुपियाँ न्युनतम शुल्क तिर्दै आएका न्युरेनीबासीले अब कम मूल्यमा खानेपानीको उपभोग गर्न पाउने भएका छन् ।उपभोक्ता समिति हस्तान्तरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख लामाले नगरको समग्र विकासमा लागि परेको बताइन् । उनले हेटौंडा–१० न्युरेनी लक्षित गर्दै आयआर्जनमा जोडिनका लागि राप्ती तटमा आक्रर्षक पार्कको निर्माण गरिने बताइन् । चाडै अव्यवस्थित ढंगबाट फालिएका फोहरलाई व्यवस्थापन गर्दै उपमहानगरले व्यवस्थित ढंगबाट मेशिनको प्रयोग गर्दै फोहोर व्यवस्थापन गर्ने बताइन् ।

नगरको विकास र सुन्दरतामा उपमहानगरबासी सबै एकजुट हुन आवश्यक रहेको उनको भनाइ थियो । खानेपानी उपभोक्ता समितिका अध्यक्ष नेत्रनाथ धिमालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१० का अध्यक्ष फुर्वादोर्जे लामा, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट, बोर्डका सदस्य ईन्द्र नेपाल, वडासदस्यहरु शारदा श्रेष्ठ, गोमा सुनार, खानेपानी बोर्डका कार्यकारी निर्देशक बिष्णुप्रसाद सापकोटाको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*